माओवादी विघटनको दिवा सपना
–युवराज चौंलागाईं
आइतवार पौष २१ (२०७१) को नयां पत्रिकामा सभासद एवं एमालेका युवा नेता रवीन्द्र अधिकारीको “माओवादी विघटनको दिशा तिर” पढे पछि केही नलेखी बस्न सकिएन । अर्को कोही आफू भन्दा अग्लो देखियो भने झन् अग्लो देखिन उसको खुट्टा काटेर आफू अग्लो भएको आत्मरती लिने प्रवृत्तिको राम्रो उदाहरण प्रस्तुत लेख हो । एमालेका युवा र सापेक्षित अपेक्षा गरिएका मानिने रवीन्द्रजी बाट यसप्रकारको गलत, हचुवा र सतही विश्लेषण आउनु वाम तथा प्रगतीशील बृत्त मात्र होइन संक्रमण कालीन मुलुकका लागि पनि शुभ संकेत होइन ।
गलत निष्कर्ष
गलत निष्कर्ष
अधिकारीले नेपालमा माओवादी आन्दोलन विघटन भइरहेको गलत र मनोगत निष्कर्ष निकालेका रहेछन्् । विघटन भनेको के हो या त उनलाई राम्रो ज्ञान छैन या भने उनी आफैसंग झुट बोलिरहेका छन् । सारा दुनियालाई थाहा छ आज नेपालका माओवादीहरु संविधान सभामा तेश्रो ठूलो दलको हैसियतमा छन् । उनीहरु प्रमुख प्रतिपक्षी दल पनि हुन् । अधिकारीको दल पहिलो पनि होइन माओवादीकै हाराहारीमा दोश्रो स्थानमा छ । तेश्रो हुनु विघटन हुनु हो भने महोदयको दल पहिल्यै विघटन भइसकेको हुनुपर्ने हो । धांधली, पदको व्यापक दुरुपयोग र मान्छेको किनबेच गरेर मञ्चन गरिएको चुनावबाट समेत एमाले पहिलो हुन सकेन। माओवादीले त अझै संविधान सभामा आफ्ना अग्रगामी एजेण्डाहरु लिएर प्रभावकारी भुमिका निर्वाह गरिरहेकै छ। एमालेले चाहिं भाइ कांग्रेस भएर शुशील कोइरालाको राजनैतिक भरिया हुने बाहेक अर्थोक गरेकै के छ र ? प्रगतिशीलता, समानता र समावेशीकरणका विरुद्ध सामन्ती राजनीतिको सनातनी श्लोक फलाकेर बसेको एमाले नामको फाटेको वस्त्र पहिरेर माओवादीलाई अर्ती दिन वहांले अलिकति पनि लाज मान्नु भएको देखिएन। आन्दोलनकै कुरा गर्ने हो भने माओवादी आन्दोलन कमजोर भएको छैन । यसका विकल्पहरु अझ विस्तारित भएका छन् । परिवर्तन र प्रगतीशीलतालाई पेलपाल गर्ने दक्षिपन्थी एमाले नेतृत्वको गलत औषधीले वहांको दृष्टि शक्ति कमजोर भएको छैन भने माओवादीले सिंहदरवार, सडक र सुदुर वस्ती सबै तिर प्रभाव फैलाएको देख्नु पर्ने हो ।
कस्तो प्रजातन्त्र ?
विडम्वनाको कुरा के हो भने नेपालमा एमाले नामको कुनै वेलाको प्रगतिशील दल पूर्णत: पुरानो राजनीतिक प्रणालीमा विलय भयो । होला, माओवादीले त्यो खतरा पार लगाउन अझै मेहनत गर्नुपर्ला, तर एमाले त क्रान्ति र परिवर्तनको मुद्दाबाट पतन भएर सकिइसकेको छ । चित्त नदुखाउनु होला, एमाले अब बामपन्थी हाइन, त्यसको मृत रुप मात्र हो । राजा सहितको संसदीय व्यबस्था प्रति वहांबाट त्यस लेखमा व्याप्त अनुरागपूर्ण विचारहरुले पनि त्यस्तै देखिन्छ । २०४७ साल पछिको झुर व्यवस्थालाई प्रजातन्त्र भनेर वखान गर्ने अधिकारीजीहरुको अहंकारी बहुमतले मुलुकमा कस्तो संबिधान कल्पना गर्ला धेरै भन्नै पर्दैन । तर, प्रष्ट चांहि के हो भने वहांहरुमा त्यस प्रकारको उल्टो मतिले घर गरिरहे सम्म जसले जति नै माला जपे पनि माओवादी विघटन हुंदैन, अरु बलियो हुन्छ। हरेक राजनीतिक दलले झैं माओवादी दल र आन्दोलनले पनि घुम्ती मोडहरु पार गर्नु त पर्छ पर्छ । आज देशमा सीमान्तकृत आर्थिक, सांस्कृतिक आदि तहका जनताका समस्याहरुको समाधान दिने मूल कानुन चाहिएको छ। विभेद र विविधतालाई एकै पटक सम्बोधन गर्न सक्ने संविधान आबश्यक छ देशलाई । तर, जन्मजात अप्रगतिशील, सामान्ती चरित्रका दलहरुसंगको कठोर लडार्इं चलिरहेका बेला सामाजिक न्याय र प्रगतिशील रुपान्तरणका लागि लडिरहेको दललाई जरै देखि उखेलेर फ्यांक्न खोज्ने नेपाली राजनीतिको बैगुनी ओली प्रबृत्तीलाई के भन्ने ?माओवादी जनयुद्धले राजाका सेना संग ज्यान दिएर लडिरहदा उही खुनी राजाको पाउमा दाम राखेर ढोगी रहेका, कुर्सीको ऱ्याल चुहाएर नारायणहिटीको झ्यालबाहिर लाइन बसिरहेका वा आन्दोलनलाई खिसी गर्दै कुम बजाएर हांसिरहेका एमाले जनका नेताहरुलाई थाहा नहुन पनि सक्छ कि परिवर्तन खासमा के थियो ।संवभत: यहि कारणले आजको राजनीतिक प्रणालीमा यति सारो संकट आएको हो।
सिद्धान्तका कुरा
राजनीतिक विवादको चुरो कुरा सिद्धान्तकै विवाद हो । भ्रम र यथार्थ प्रतिको व्यक्ति वा समूहको पहुंच पनि आजको जमानामा त्यस्ता सिद्धान्तहरु प्रति व्यक्तिको समझदारीले निर्धारण गर्दछन् । खास कुरा के भने माओवादी आन्दोलनका हरेक शाखा अझ पनि तल्लो तहका जनताको परिवर्तन प्रतिको झुकावबाट बकाइदा प्रभावित छन् । त्यसलाई एमालेका सिद्धान्तहीन नेताहरु धङधङी भन्दछन्, माओवादीहरु त्यसलाई निष्ठा मान्दछन् ।दु:खको कुरा, एमालेले आफूलाई कम्युनिष्ट सिद्धान्तबाट पूर्णत च्यूत गराइ सकेको छ । यदि ऊ कम्युनिष्ट पार्टी हुन्थ्यो भने न एमाले र माओवादीका वीचमा यस प्रकारको तीक्त छेडखानी हुन्थ्यो न केपी ओली जस्ता ब्रान्डेड दक्षिणपन्थी कुनै नामधारी कम्युनिष्ट पार्टीको अध्यक्ष नै हुन सक्थे । नेपाल र नेपाली जनताको दुर्भाग्यको कुरा हो की हाम्रोमा कम्युनिष्ट सिद्धान्तलाई पहिला सामान्ती र पछि पूजीपतिहरुको पाउमुनी लगेर सेलाउने काम भयो । बदलामा केही नेताले घर घडेरी, छोरा छोरीलाई छात्राबृत्ती हुदैं क्रमश: मन्त्री बन्ने मौका पनि पाए। खुल्लमखुल्ला भएको यो कालो धन्दालाई चुनौती दिएर माओवादी आन्दोलन अगाडी आएको हो । तर, उसको आगमन सामान्ती र पूजीपतिहरुलाई त मन पर्ने कुरा भएन भएन, खांटी एमालेलाई पनि मन परेन । अब यो लडाईमा माओवादीको खुट्टा कामिरहेको पनि प्रष्टै देखिन्छ । उसले कति सक्छ त्यो पनि परीक्षामै छ । कम्तिमा खुसी हुन सक्ने कुरा कति छ भने एमाओवादीले कामेकै खुट्टा भए पनि उचालेको त छ । आज एउटा सचेत मान्छेको कर्तव्य यो बन्छ कि खुट्टा नकमाऊ भनेर ढाडस देओस । तर विडम्बना, कोही त खुट्टा काट्न पो उल्टो तम्सेका छन् ।
व्यबहारका असंगती
तेश्रो वा अविकसित विश्व मानचित्रमा जहिले पनि राजनीतिमा सिद्धान्त र व्यवहार बीचको तालमेत कांडा माथिको यात्रा हो। किनभने यसका अनेकौं जटीलताहरु छन् । तर, यसो भनेर नेता हुन्छु भनेर अगाडी आउनेले छुट पाउंदैन । सिद्धान्तको मेशिन पहिलो विश्वमा राखेर कार्यान्वयनको थलो तेश्रो विश्वलाई बनाउंदा आएको जटीलता हो यो । जव राजनीतिक नेताहरु मौलिक र खांटी सिद्धान्तमा दीक्षित हुन्छन, यो समस्या ठूलो रुपमा रहदैन।
व्यबहारको कुरा हामीकहां चुनावी भाषणको मसला बढी हुने गरेको छ। वस्तवमा दैनिक जीवनमा भोग विलासको प्रतिस्पर्धा नै आम रुपमा व्याप्त छ । तर यस मामलामा पनि माओवादी अरु भन्दा अझै अग्रगामी नै छ भन्ने मेरो दावी छ । भलै यसमा अनगिन्ती कमजोरी नभएका होइनन् तर अझै नेताहरुको शैली, संस्कृती, पारिवारिक स्थितीबारे माओवादी आन्दोलनले चासो मात्र राख्दैन बरु एक हद सम्म निर्देशित गर्ने अधिकार पनि राख्छ । के आफूलाई अव्वल दावी गर्ने एमालेमा त्यो संस्कार वा विषय सूची बांकी छ ? नेताले व्यवसाय गर्ने कि नगर्ने, विदेशी गैर सरकारी संस्था र पार्टी विचको साइनो सम्बन्ध के हुने, आधारभूत सांस्कृतिक आचरण के हुनु पर्ने जस्ता अनेकन् विषयमा माओवादी आन्दोलन (नेता विशेषको कुरा होइन) अझै आफू भित्र बहस गर्ने नैतिक अधिकार राख्छ । के एमालेमा त्यस प्रकारको कुनै संस्कार बांकी रहेको छ ? बिल्कुल छैन । एमालेका नेताहरुले व्यवहार र आचरणको सन्दर्भमा माओवादीलाई अर्ति उपदेश दिनु भनेको छट्टु स्यालले दुधालु गाईलाई इमान्दारीको पाठ सिकाउनु जस्तै हो ।
यसो गरौं !
विग्रेकै भए पनि एमाले कुनै वेलाको कम्युनिष्ट पार्टी हो । अहिले पनि त्यस पार्टीमा मुक्ति र परिवर्तनको अपेक्षा राख्नेहरुको पंक्ति बांकी नै छ। खस गरि पुरानो पुस्ताले विगारेका वा गर्न नसकेका कामहरुलाई नयां पुस्ताले गर्न सक्ला भन्ने जनअपेक्षामा त्यतिबेला धक्का लाग्छ जव रवीन्द्रजी जस्ता कुनै बेला माओवादी भइसकेको चर्चा गरिएका र प्रगतिशील ठानिएका युवा नेताहरुबाट गुटको दुर्गन्ध आउने गरि असान्दर्भिक र गलत प्रचारबाजी शुरु हुन्छ। माओवादी आन्दोलनबारे नेपालका राजनीतिक पुरोहितहरुको जस्तो अमिल्दो भविष्यवाणी गर्न जति वहांहरु अघि सर्नु हुन्छ, नेपालको अग्रगमनको यात्रा उती अवरुद्ध हुने गरेको छ। किनकी यो सवाल अन्तत: राजनीतिक मुद्दाहरुको सवाल हो । तसर्थ, राज्यको रुपान्तरणका सन्दर्भमा हातेमालो गर्नु मात्र आज पार्टीहरुको दायित्व हो । आफूलाई असुविधा हुने मुद्दामा अडान लिने जति विघटन भएरहेको सपना देखिरहने र उनीहरुलाई कमजोर ठानिरहने हो भने कसैलाई पनि इतिहासले दया गर्दैन। अहिले २/४ सीट बढी ल्याएर जगधम्म पर्दै अरुलाई होच्याएर प्रस्तुत हुने सबैले यो तथ्यलाई मनन् गरुन् ।
अस्तु !
२१ पौष, २०७१
Comments
Post a Comment