कोरियामा पिल्सिएको नेपाल : एक अनुभूति



नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिबेशनको सन्दर्भमा यो पंक्तिकार हालै पांच दिने कोरिया भ्रमण सकेर फर्कियो । यो लेख त्यहि भ्रमणका सूचना र अनुभूतिहरुको एक सिलसिला हो । 

कोरियामा बिभिन्न प्रकारको भिषामा नेपालीहरु बसोबास र काम गर्दै आएका छन् । ती मध्ये इपियस मार्फत काममा गएका नेपालीहरुको संख्या सबभन्दा ठूलो छ । कामदारलाई निश्चित मूल्यांकन प्रणालीका आधारमा छनौट गर्न करिब दशक अगाडी रोजगारी अनुमति प्रणाली (इपियस) प्रचलनमा ल्याइएको थियो । अदक्ष र अर्धदक्ष कामदारका लागि यो प्रणाली अपनाइए पछि कोरियामा सर्ब साधरण नेपाली कामदारहरुको पहुंच ह्वात्तै बढेको छ । महिला, गरिब र समाजको आर्थिक रुपले बिपन्न समुदाय समेत कोरियामा अहिले श्रम गरिरहेका भेटिन्छन् । 

कोरियामा करिब चालिस हजार यस्ता नेपाली श्रमिकहरु रहेको त्यहां रहदा थाहा भयो । यस्ता श्रमिकहरु हरेक महिना पन्ध्र देखि पच्चिस लाख ओन (नेपाली करिब डेढ लाख देखि अढाई लाख रुपैंया) सम्म तलब थाप्छन् । कंपनीको स्तर, लोकेशन तथा कामदारको अनुभव जस्ता कुराहरुले तलब मानमा फरक हुने गरेको  छ । रोजगारदाता कंपनी स्वयंले कामदारहरुलाई आवास र भोजनको व्यबस्था गरेको हुन्छ । कामदारहरुलाई निश्चित शर्तहरुमा कंपनी परिबर्तन गर्ने स्वतन्त्रता पनि हुन्छ । जस्तो कि नेपालबाट जांदा शुरुमा काम गरेको ंकंपनीमा काम गर्न इच्छा नलागेमा कामदारले आफैं काम खोजेर नयां कंपनीमा जान सक्दछ ।  सामान्यत: श्रमिकहरुलाई सार्बजनिक बिदाहरुमा छुट्टि दिइन्छ । बार्षिक रुपमा बिशेष बिदाहरु पनि साथै दिइएको हुन्छ । सर्सर्ती हेर्दा कोरियामा नेपाली श्रमिकहरुको अबस्था राम्रै देखिन्छ । 

तर कोरियामा नेपाली कामदारहरुका दुख पनि कम्ति छैनन् । यी मध्ये सबभन्दा चर्को समस्या भोग्नेमा कृषी क्षेत्रका नेपाली मजदूरहरु रहेछन् । 

कृषी क्षेत्रका मजदूरहरुलाई कम तलबमा काम गराइन्छ । उनीहरुले अरु सरह आठ घण्टा दैनिक काम गरेर सुख पाउदैनन् । यस्ता मजदूरहरुलाई ठूल्ठूला कृषी फर्महरु भित्रै ससाना घर बनाएर राख्ने गरिन्छ । कतिपय नेपालीहरुलाई त कृषी कार्य गर्दै रात बिताउन त्यहिं भित्र ट्रकको बडी जस्तै कन्टेनरमा समेत राखिदो रहेछ । त्यहां उनीहरु ससाना बच्चाहरुलाई होस्टलमा राखिए जस्तै दुई वा तीन तले खाटमा सुत्ने व्यबस्था मिलाइएको हुन्छ । उनीहरु मध्ये  कतिपय त चौबिसै घण्टा काममा खटिनु पर्ने हुन्छ । अन्यत्र ८ घण्टा कार्यदिन लागु भए पनि कृषी कार्य गर्ने नेपालीहरु भने अतिरिक्त श्रम गरे बापत अरुले पाउने सुबिधाबाट बंचित रहेछन् । 

कोरिया धेरै ठूलो भौगोलिक क्षेत्र नभए पनि व्यापक रुपले भौतिक बिकास गरेको देश हो । हामीकहां जस्तो काठमाण्डौ मात्रै सबै सुबिधा र अबसरको केन्द्र नभएर त्यहांको बिकास बिकेन्द्रित छ । ठूला कंपनीहरु देशका विभिन्न भागमा छरिएर रहेका छन् । त्यसकारण एक पटक कंपनीमा भित्रिएको कामदार राजधानी वा अर्को शहरको मुखै नदेखिकन स्वदेश फर्कदो रहेछ । उनीहरु काममा यति व्यस्त हुंदा रहेछन् कि आफ्नै शहरको बाटो छिचोल्न पनि जिपियसबिना धेरैलाई कठीन हुंदो रहेछ । त्यहां रहेका एकदमै कम नेपालीहरु मात्रै सामाजिक जीवनमा सक्रिय देखिए । त्यहां, जात मात्रै होइन थर सम्मका, जिल्ला मात्र होइन गाउं सम्मका नाममा सामाजिक संस्थाहरु खोलिएका छन् । ती मध्ये अधिकांश केही टाठा बाठाहरुका कमाइखाने भांडो मात्रै हुन् । खास गरी नेपालबाट बिभिन्न खालका कलाकारहरु लगेर कार्यक्रमहरु चलाएर मुनाफा कमाउने, ताल परे पैसा असुलेर मान्छे लगि अबैध रुपमा राख्ने र समग्रमा यस्ता संस्थाहरुलाई आर्थिक अपार्जनको थलो बनाउने उद्देश्यमा चल्नेहरुबाट आम श्रमिकहरु पूर्णत: पृथक छन् । उनीहरुलाई त्यहां रहदा पनि आफ्नै परिवार, आफ्नै आर्थिक अबस्थाको चिन्ता छ । त्यहि चिन्ता नै उनीहरुको जीवन उर्जाको श्रोत हो । नेपाली कामदारहरुको शरीर मात्र कोरियामा छ, मन चाहिं आफ्नै घर, समाज र देशमा रहेछ ।  

यस्तो सोच अति भएर पनि होला आम श्रमिकहरुमा मानसिक समस्या अत्यधिक देखिएको दुताबासका श्रम सहचारिले बताए । केही अनौठा र मार्मीक घटनाहरु पनि यस क्रममा सुन्न पाइयो ।  

सांझ परे पछि ज्यान तताउन मादक पदार्थ सेवन गर्ने चलन कुन देशमा नहोला र ? यसका लागि थरी थरीका ब्राण्डहरु कोरियामा पनि हुने भैहाल्यो । कोरियाको मजदूर वर्गीय मदिराको नाम रहेछ सोजू । यो एक प्रकारको लोकल मदिरा रहेछ जो करिब हाम्रो खोया बिर्के वर्गको जण्ड रहेछ । प्राय नेपाली कामदारले पिउने रक्सी यहि सोजू रहेछ । अनि यो संग नेपाली कथा पनि जोडिने भैहाल्यो । 

एक जना नेपालीले सांझ परेपछि सोजू पिउंदै नेपालमा भखैरै बिहे गरेकी पत्नीसंग लाइभ भिडियो च्याट गर्दै रहेछन् । कुनै कुरामा नव दुलहीसंग उनको ठाकठूक परेछ । अनि लौ हेर अब म मर्दिन्छु भनेर लाइभ झुण्डिएर मर्दिएछन् । उता श्रीमतीले जति चिच्याए कराए पनि कुनै अर्थहुने कुरा भएन । कोरियामा रहेका रेडलाइट एरियासंग जोडिएका कथाहरु पनि अनेक छन् । जसले नेपालीहरुका मानसिक अबस्था र दैनिक जीवनका बिबशताहरुको झल्को दिन्छन् । 

कमाइएको अधिकांश रकम नेपालको घरायसी काममै सकिएकोमा ठूलो चिन्ता छ त्यहांका नेपालीहरुमा । सरकारले प्रति व्यक्ति रकम जम्मा गरी सुरक्षित लगानी गरिदेओस भन्ने उनीहरुको चाहना छ । त्यस्तै, भिषा सकिएर नेपाल फर्के पछि फेरि अर्को पटक कोरिया आउन नपरे हुने भन्ने चाहना छ । उनीहरु कोरियामा सिकेको सीप र योग्यता नेपालमै सदुपयोग गर्न पाइयोस भन्ने चाहन्छन् ।  

आय स्तरको दृष्टिकोणले कोरिया नेपालीहरुका लागि अमेरिका वा यूरोप भन्दा कम छैन । तर अन्यन्त्र झैं त्यहां लामो समय बस्ने, परिवार सहित स्थायी बसोबास गर्ने संभावना छैन । तसर्थ, आयराम्रो भए पनि कोरियामा बसेका नेपालीहरुको तुलना यूरोप अमेरिका बस्ने नेपालीहरुसंग हुनै सक्दैन । खाडी वा मलेशियाका नेपालीहरुको भन्दा आय राम्रो हुने मात्र हो, कोरियाका नेपालीहरुको  समस्या तिनै मजदूरहरुसंग मिल्दोजुल्दो छन् । 

यूरोप र यशियाका करिब २० वटा मजदूर केन्द्रित मुलुकहरु घुमिसकेको एक रानीतिक कार्यकर्ताको नाताले कोरियामा मेरो लागि अरु भन्दा बिल्कूल फरक अनुभूति हुन सकेन । मजदूरहरुको आय स्तर यूरोपेली स्तरको भए पनि सन्तुष्टिको स्तर सम्बृद्ध खाडी मुलुकको स्तरको रहेको मैंले पाएं । नेपालबाट नेताहरु आउने, एकले अर्कालाई गाली गरेरै समय बिताउने तर आफ्नो सरोकार जहिल्यै बेवास्ता गरिने प्रबृत्ति प्रति कोरियामा रहेका नेपालीहरु रुष्ट छन् । देशमा स्थिरता र न्यायपूर्ण बिकास होस र त्यसमा आफूहरुले पनि योगदान गर्न पाइयोस भन्ने उनीहरुको चाहना देखियो । नयां सरकारले बिप्रेषणको सदुपयोग, युवा पलायन रोक्ने पहल र बिकासको मौलिक बाटो रोजोस भन्ने चहना र अपेक्षा उनीहरुके थियो । 

प्रभावकारी राजदूताबास, दक्ष जनशक्ति बिकासमा जोड, रेमिट्यान्सको दीर्घकालीन लगानी आदि कदमहरु नेपाल सरकारले तत्काल चालेमा कोरियाका हरेक नेपालीले आफूलाई राज्यले स्थान दिएको ठान्ने छ । यस दिशामा नेपाल सरकार र सम्बन्धित निकायको ध्यान छिटै जाओस । 

१ भदौ २०७

(www.onlinekhabar.com मा प्रकाशित)

Comments

Popular posts from this blog

शिक्षा : परिवर्तनको पैरवी

कमरेडको फोन