माओवादी आन्दोलनका संगठनात्मक समस्याहरुबारे
कम्युनिष्ट पार्टीको एक मात्र उद्देश्य कार्ल माक्र्स (१८१८–१८८३ ई.) का अनुसार दुनियालाई बदल्नु हो । सन् १८४८मा कम्युनिष्ट घोषणा पत्र सार्बजनिक गर्दै उनले त्यसका दुई आयाम रहने स्पष्ट पारे – पहिलो, दुनियालाई बुझ्नु, र दोश्रो त्यसलाई बदल्नु । आज सम्म सारा संसारका क्रान्ति, परिवर्तन र आन्दोलनहरु यिनै दुई कुराहरुका लागि भइरहेका छन् ।
कम्युनिष्ट पार्टीका मूलत: दुई प्रकारका आन्तरिक कामहरु हुन्छन् । एक, बैचारिक/राजनैतिक काम र अर्को संगठनात्मक काम । बैचारिक कामले प्रारम्भिक निकास पाएपछि कुनै पनि पार्टीको मूल काम संगठनात्मक काम हो । एक कम्युनिष्ट नेताले भनेका छन् – ‘सहि राजनैतिक कार्यदिशाको प्रतिपादन भए पछि सांगठनिक कामले राजनैतिक कार्यदिशा स्वयंको भाग्य, त्यसको सफलता वा असफलता लगायत सारा कुराको फैसला गर्दछ ।’ (१)
प्रस्तुत आलेखमा उपरोक्त समझदारीको आलेकमा कम्युनिष्ट पार्टीका संगठनात्मक पक्षबारे एक छलफल चलाउने प्रयत्न गरिएको छ ।
कम्युनिष्ट संगठन : एक सामान्य सिंहाबलोकन
कम्युनिष्ट पार्टी मजदूर वर्गको शक्तिले राज्य सत्तामा श्रमजीविहरुको बर्चस्व कायम गर्ने मान्यताका साथ जन्मियो । त्यसैले स्वभावैले पहिलो कम्युनिष्ट संगठन मजदूरहरुकै बीचमा भयो । कार्ल माक्र्सले स्थापना गरेको अन्तर्राष्ट्रिय श्रमजीवि संघ (International Workingmen's Association) मजदूर बाहुल एक क्रान्तिकारी संगठन थियो । अन्तर्राष्ट्रिय समितीको गठन गरेर संसार भरको मजदूर आन्दोलनलाई हांक्ने त्यसको उद्देश्य थियो । तर, अनेकन् व्यबहारिक कठिनाईहरुका कारण, मूलत: माक्र्स एंगेल्सको उच्च बौद्धिक चरित्र र संगठनात्मक संरचनाका बीचमा तालमेल मिल्न नसकेका कारण त्यस संगठनले काम गनै सकेन ।
लेनिन (सन् १८४७ – १९२४) ले कम्युनिष्ट पार्टीका बैचारिक मान्यतामा माक्र्स भन्दा पनि अघि बढेर माक्र्सवादलाई बिकास गरे भने संगठनात्मक क्षेत्रमा एक आधार शीला नै खडा गरिदिए । लेनिनको संगठनात्मक काम विश्व भरी नै कति प्रिय र सफल मानिन्छ भने कम्युनिष्ट पार्टीको संगठनलाई आज पनि लेनिनवादी संगठन भनिन्छ । लेनिनले कम्युनिष्ट पार्टीको संगठनलाई नयां ढंगको पार्टी (Party of New Type) बताएर त्यसका ५ वटा मूख्य मान्यताहरु बताए (२) । ती थिए :– १) स्थायी संगठन २) जनसंघर्षलाई नेतृत्व दिन सक्ने ठोस संगठन ३) पेशेवर क्रान्तिकारीहरुको संगठन ४) भूमिगत संगठन ५) श्रमजीविहरुलाई आकर्षित गर्ने संगठन ।
तत्कालीन रुसको कम्युनिष्ट पार्टी भित्र चलिरहेका बहस र समकालीन पार्टीहरुका अनुभवहरुको आधारमा भन्दा त्यो लेनिनको अत्यन्त ठूलो क्रान्तिकारी कदम थियो । त्यहि कारण पनि लेनिन छोटै समयमा रुसमा समाजवादी क्रान्ति गर्न सफल भए । पार्टी भित्र ट्राटस्कीहरुको करिब बहुमत भएको अबस्थामा पनि उनीहरुसंगै संघर्ष गरेर उनले त्यस प्रकारको संगठनात्मक लाइन पास पास गराएका थिए । उपरोक्त पांचै मान्यताहरुको बिशेष महत्व छ । तै पनि, पेशेवर क्रान्तिकारी वा पूर्णकालीन कार्यकर्ताको मान्यता र भूमिगत पार्टीको मान्यता बिशेष रुपले उल्लेखनीय छ ।
लेनिनले उपरोक्त आधारभूत संगठनात्मक मान्यतासंगै पार्टी सदस्यहरुका आधारभूत र अनिवार्य काम पनि तोकिदिए । लेनिनका अनुसार कम्युनिष्ट पार्टीमा पार्टी सदस्यका काम जम्मा जम्मी ३ वटा थिए : पहिलो, पार्टीको नीति कार्यक्रमलाई नि:शर्त स्विकार गर्ने । दोश्रो, पार्टी कार्यक्रमहरु स्वयं उपस्थित भइ लागू गर्ने । र तेश्रो, पार्टीलाई नियमित रुपमा लेवि तिर्ने । त्यस्तै, पार्टीको स्थाई, पेशेवर र भूमिगत संरचना परिचालन गर्नका लागि उनले जनवादी केन्द्रीयताको सिद्धान्त अगाडी सारे । जनवादी केन्द्रीयताको मान्यताबारे जर्मन नेतृ तथा माक्र्सवादी विदुषी रोजा लक्जमवर्ग ( १८७१ – १९१९ ई.) ले सशक्त सैद्धान्तिक तर्कहरु उठाएर कडा बिरोध गरिन् । उनको बिचारमा लेनिनको संगठनात्मक मोडल अति केन्द्रीयतावादी भएको हुनाले अन्तत: व्यक्तिलाई सर्बैसर्वा बनाउन सक्दथ्यो । उनले कार्ल माक्र्सको बैचारिक प्रस्थावनाको आसय र लेनिनको संगठनात्मक शैली आपसमा नमिल्ने बताएर लेनिनलाई केन्द्रीयतावादी, अलोकतान्त्रिक आदि बताएकी थिइन । (३) यता लेनिनले रोजालाई रुसको परिस्थिती सहि ढंगले नबुझेको बताएर आफ्नो संगठनात्मक मान्यतालाई तत्कालीन युद्धकालीन अबस्थाको ठोस उपज बताएका थिए । (४) पछि लेनिनको याहि मोडल रुसमा सफल भयो र संसार भरी फैलियो । जे होस, कम्युनिष्ठ पार्टीको संगठनात्मक सिद्धान्त बिकासमा लेनिनलाई जनक मान्दा हुन्छ ।
माओत्से तुंग (सन् १८९३ – १९७६) ले लेनिनको संगठनात्मक सिद्धान्तलाई थप सरलीकृत गरे । माओले लेनिनवादी संगठनात्मक मान्यताका ३ मूख्य पक्ष रहेको बताए । ती थिए :– एक, सर्बहाराबर्गको अग्र दस्ता पार्टी । दुई, जनवादी केन्द्रीयता। र तीन, जनदिशा । (५)
माओका पहिलो र दोश्रो मान्यता लेनिनले अगाडी सारेकै मान्यता थिए तर तेश्रो मान्यता चिनको अनुभवमा आधारित मौलिक प्रकृतीको थियो । करिब ३ दशक लामो फौजी संघर्षबाट आएका माओले आफ्नो जीवनकाल भरी जनदिशालाई एक आधारभूत मान्यताका रुपमा अघि बढाइरहे । जनदिशाको माओ मर्म जनतासंगै रहेर अनुमोदित हुंदै पार्टी र जनता दुवैलाई रुपान्तरित गर्ने भन्ने थियो । यसलाई पछि उनले जनताबाट लिने, जनतालाई नै दिने पनि भने ।
संगठनात्मक मान्यतामा माओको अर्को मुख्य योगदान भनेको पार्टीमा एकमा तीनको संयोजन (Three in One ) हो । (६) पार्टी लामो समय देखि काम गरेका बृद्ध बृद्धा, प्रौढ र नयां युवाहरुको संयोजन नभइ अगाडी बढ्न नसक्ने माओको निष्कर्ष थियो । त्यस्तै, पार्टी, सेना र मोर्चालाई जनयुद्धका तीन जादूगरी हतियार बताएर माओले पार्टीको नेतृत्वमा कसरी फौजी र गैर फौजी क्षेत्रमा कायापलट ल्याउन सकिन्छ भन्ने संगठनात्मक प्रस्थापना अगाडी सारे ।
नेपालको सन्दर्भ
संगठनात्मक प्रयोग र अभ्यासहरुका दृष्टिले नेपालको कम्युनिष्ट आन्दोलनलाई मूलत: चार भागमा बांडेर अध्ययन गर्न सकिन्छ । ती हुन् :–
१) प्रारम्भिक काल (बिसं २००६ देखि २०१२ सम्मको अविभाजित कम्युनिष्ट पार्टीको समय)
२) बिभाजन, आरोप र संक्रमणको काल (२०१२ देखि २०५१ सम्मको अबधी)
३) जनयुद्ध काल (२०५२ देखि २०६२ सम्मको जनयुद्धको अबधी )
४) संक्रमण काल (२०६३ देखि २०७३ सम्म)
कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्तामा भयो । भारतमा नेपाल भन्दा ३० बर्ष पहिल्यै कम्युनिष्ट पार्टीको स्थापना भइ सकेको थियो । आफू भन्दा जेठो र जन्म स्थानकै पार्टी हुनाले शुरुका बर्षहरुमा नेकपा माथि भारतका कम्युनिष्टहरुको प्रत्यक्ष प्रभाव पऱ्यो । शुरुका बर्षहरुमा नेपालको कम्युनिष्ट पार्टीमा भारतमा जस्तै प्रान्तीय कमिटीहरु बनाइन्थे । महामन्त्री, मन्त्री जस्ता क्लिष्ट र नेपाली जनजीवनमा नभएका शव्दावलीहरु प्रयोग गरिन्थे ।
तेश्रो महाधिबेशन पश्चात कम्युनिष्ट पार्टीमा बिभाजन आयो । बिस्तारै नेपालमा कम्युनिष्ट पार्टीहरु कतिवटा छन् गणना गर्न अल्मिलिने अबस्था आयो । पञ्चायती राज संगै कम्युनिष्ट पार्टीहरु पुन: भूमिगत हुन पुगे । बिश्व परिस्थितीमा बदलाव आयो । चीन र रसिया बीचको बिबाद, चाीनका नेता माओको मृत्यु, सोभियत सत्ताको बिघटना जस्ता ठूल्ठूला अन्तर्राष्ट्रिय महत्वका घटनाहरु यसै अबधीमा घटे । पार्टीहरुमा बिस्तारै पुराना नेताहरुको हातबाट नयां पूस्तामा नेतृत्व आउन थाले । गाली गलौज र बैमन्यस्ताका बीचमा पनि सबै कम्युनिष्ट समूहहरु पार्टी स्थापना ताका पुष्पलालले अघि सारेको राजनीतिक लाइन र भूमिगत संगठनात्मक संरचनालाई नै अघि बढाइरहे । यस बीचमा झापामा हतियार बोकेर बर्गशत्रु खतम अभियानमा लागेको माले जर्मन सामाजिक जनवादी धारामा समाहित हुंदै शान्तिपूर्ण रुपान्तरणको वकालत गर्ने माले/एमालेमा संक्रमण भयो । उता, बिभिन्न समूहहरु मिलेर तत्कालीन चौथो महाधिबेशन वाला रसियाली सामाजिक जनवादी धारले संसदको उपयोग हुंदै माओवादी सम्मको संक्रमणको यात्रा पुरा गर्यो । यस बीचमा भूमिगत र खुल्ला, गैरकानुनी र कानुनी, फौजी र केही गैर फौजी सघर्षका रुपहरु समेत प्रयोग भए । बिद्यार्थी आन्दोलनबाट युवाहरु पार्टी नेतृत्वसम्म आए भने किसान र सामाजिक सुधारका आन्दोलनबाट नेपालका कम्युनिष्ट आन्दोलनको एक मजबुत आधार पनि तयार भयो । नेपालको कम्युनिष्ट आन्दोलन यहि कालबाट परिपक्वता तिर पनि अगाडी बढ्यो ।
जनयुद्धको काल नेपाली कम्युनिष्ट आन्दोलनमा संगठनात्मक बिकास क्रमका हिसाबले अत्यन्त उत्साहप्रद र गुणात्मक रह्यो । बास्तबमा भन्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनका बिगत ६७ बर्षका सबभन्दा तेजस्वी र फलदायी बर्ष जनयुद्धका दश बर्ष नै थिए । संक्ष्ोपमा जनयुद्धकालीन कम्युनिष्ट संगठनका ६ मुख्य बिशेषताहरुलाई यसरी बुंदागत रुपमा व्याख्या गर्न सकिन्छ :–
१)जनयुद्धकालीन माओवादीले संगठनात्मक क्षेत्रमा सैद्धान्तिक महत्वका कयौं कामहरु गरेको थियो । एक्काइसौं शताव्दीमा जनवादको बिकास सम्बन्धी प्रस्ताब त्यस सम्बन्धी एक ठोस उदाहरण हो । पार्टीले बहुदलीय प्रतिस्पर्धाको मान्यता आत्मसात् गर्ने (७), पार्टीको प्रमुख नेतृत्व टीम सरकार र दैनिक कार्यव्यापारमा नलागी बैचारिक काम गरेर पार्टीलाई निरन्तर उर्जाशील राख्ने (८), जनमुक्ति सेनालाई क्रान्ति पश्चात व्यारेक नभई जनताका बीचमा राख्ने (९) आदि यस प्रस्तावका मूल मान्यताहरु थिए । त्यसै गरि नयां बिश्व फेडेरेशन (१०)को अबधारणा अगाडी सारेर पार्टीले नेपाली क्रान्तिलाई बिश्व क्रान्तिको आधार इलाका मान्दै भूमण्डलीकृत बिश्वमा शीघ्र क्रान्तिकारी आन्दोलन बिस्तारको परिकल्पना अगाडी सारेको थियो । त्यसै गरी दक्षिण एशिया क्षेत्रमा कम्पोसाको अबधारणा (११) अन्तर्गत यस क्षेत्रमा संयुक्त पहलकदमी सहितको क्रान्तिकारी आन्दोलनको बिषय अगाडी सारेको थियो । त्यस्तै गरी, एकता–संघर्ष–रुपान्तरणको सार्वभौम माक्र्सवादी मान्यताको बिरुद्ध एकता–संघर्ष–बिभाजनको मान्यता अंगालिरहेको नेपाली कम्युनिष्ट आन्दोलनको फूटवादी समस्यालाई मोहन बिक्रा प्रबृत्ती (१२) का रुपमा संश्लेषण गर्दै पार्टीले रुपान्तरण र पुन: एकतामा जोड दिएर संगठनलाई एकता र ध्रवीकरणको नयां उचाईमा उठाएको थियो ।
२) कमरेड माओद्धारा अगाडी सारिएको पार्टी, सेना र संयुक्त मोर्चाको उच्च प्रयोग नेपालको जनयुद्धको क्रममा भयो । अभियानात्मक रुपमा पार्टीका पूर्णकालीन कार्यकर्ताहरुको निर्माण तथा परिचालन, पार्टीको नेतृत्वमा बिशाल जनमुक्ति सेनाको गठन र परिचालन एवं संयुक्त मोर्चाको माध्यमबाट हस्तक्षेपकारी बैकल्पिक सत्ताको अभ्यास नेपाली दश बर्षे जनयुद्धका प्रमुख बिशेषताहरु थिए ।
३) बर्गीय मुक्ति आन्दोलनलाई मात्र अगाडी बढाइरहेको नेपाली कम्युनिष्ट आन्दोलनले जनयुद्धकै बीचबाट एक प्रमुख बैचारिक तथा संगठनात्मक हतियारका रुपमा वर्गीय र जातीय मामलाहरुको समायोजनको मान्यतालाई अगाडी सारेको थियो । जुन मान्यताले नेपालको राजनैतिक नक्सामा पछिपारिएका हेपिएका जाती समुदायलाई एक नयां ज्योती प्रदान गरेको थियो ।
४) जनयुद्धकालीन संगठनको एक प्रमुख बिशेषता भनेको केन्द्रीकृत पार्टी नेतृत्व थियो । सिद्धान्तत: मूल नेतृत्वलाई सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्ति मान्दै हरेक तहको पार्टी नेतृत्व केन्द्रीकरणमा जोड दिइएको थियो ।
५) जनयुद्धकालीन संगठनात्मक मान्यताको अर्को मूल चरित्र भनेको फौजी र गैर फौजी संगठनहरुका बीचमा तालमेलपूर्ण परिचालन थियो । जनयुद्धले फौजलाई संगठनको उच्च रुप मानेको थियो तर गैर फौजी प्रकारका पार्टी कमिटीहरु र बिबिध बिशेषतायुक्त जन वर्गीग संगठनहरुको निर्माण र परिचालनमा पनि जोड दिएको थियो । त्यहि कारण जनयुद्धका बेलामा ठूल्ठूला व्यारेक कव्जा हुन्थे भने बिद्यार्थी, मजदूर, किसान, दलित, महिला आदि जनवर्गका जायज मागहरु उठाएर जनप्रदर्शन, हड्ताल, बन्द आदि कार्यक्रमहरु पनि साथसाथै हुन्थे ।
६) यस अबधीको प्रमुख संगठनात्मक बिशेषता मध्येको एक बिशेषता भनेको जनयुद्धमा आम उत्पीडितहरुको व्यापक सहभागिता थियो । पिछडिएको वर्ग, जातीहरु, पिछडिएका क्षेत्रका जनताहरु, महिला, दलित आदिको साभागिता र बलिदानको मात्राले जनयुद्धलाई एक महान उचाइ दिएको थियो ।
जनयुद्धरत् पार्टी शान्ति प्रकृयामा आए पछि जनयुद्धकालीन संगठनका बिशेषताहरु बिस्तारै संकटमा पर्दै गए । जनयुद्ध पश्चातको हाल चालू संक्रमण सहित सरकारमा सहभागिको वर्तमान समय माआवादी आन्दोलनका सामु समापनको अन्तिम भोज वा पुनरोदयको गंभीर पहल रोज्ने भन्ने दोसांधमा आइपुगेको छ ।
समस्याबारे
रुसी कम्युनिष्ट पार्टी (बोल्सेभिक) को एक औपचारिक भेलामा कार्यकर्ताहरुबारे बहस भैरहेको थियो । त्यस्तैमा महासचिव क. स्टालीनले आफैंले भोगेको एक सत्य कथा सुनाए । घटना यस्तो थियो :–
मलाई साइबेरियामा घटेको एउटा घटना याद छ, जहां म एक पटक निर्बासनमा बसेको थिएं । यो घटना बसन्त ऋतुमा, बसन्ते बाढीका बेलामा घटेको थियो । बिशाल। बढ्दो बाढीले बगाएर ल्याएका काठ झिक्न ३० जना जति मानिसहरु नदीमा गए । सांझ तिर उनीहरु गाउंमा फर्कदा एक जान कमरेड हराइरहेको थियो । तीसौं मानिस कहां नेर छ भनेर सोध्दा उनीहरुले त्यहीं रहेको छ भनी नीच मारेर जवाफ दिए । त्यहिं रहेको भन्ने तपाईंहरुको मतलब के हो भनेर मैंले प्रश्न गर्दा तिनीहरुले त्यसत्ै उदासीन रुपमा जवाफ दिए – किन सोध्नु भयो? सायद डुबे होलान् । त्यसपछि तिनीहरु मध्ये एकजनाले मलाई गएर घोडीलाई पानी दिनु छ भन्दै जान हतार गरे । मानिसको भन्दा बढी जनावरको चिन्ता गरेकोमा जब मैंले उनीहरुको आलोचना गरें, सबैको स्वीकृतीबट ती मध्ये एक जनाले यसो भन्यो हामीले मानिसकोबारेमा किन चिन्ता गर्ने ? हामी मानिस जहिले पनि बनाउन सक्छौं । तर घोडीको कुरा ...... घोडी बनाइ हेर्नोस त † (१३)
आज माओवादी पार्टीमा कार्यकर्ताको अबस्था साइबेरियाको बाढीमा हराइरहको स्टालीनको अज्ञात कमरेडको जस्तै छ । घोडी जति पनि हैसियत नभएको, जहां हराए पनि खास फरक नपर्ने । बाढीमा मुढा खोज्न त्यहां गएका ३० जनाको संगठन र आज हामी माओवादीहरुको संगठनको मनोविज्ञान उस्तै उस्तै छ ।
पार्टी भित्र गुटबन्दी र बर्गउत्थान असाध्य रोगका रुपमा झांगिएका छन् । नेताहरुलाई कार्यकर्ताले हामीलाई बुझिदिएनन् भन्ने लागेको छ भने कार्यकर्ताहरुलाई नेताले आफूहरुलाई अपहेलना गरेको भन्ने परेको छ । इटालियन विद्वान एन्टोनियो ग्राम्सी (१८९१–१९३७ ई.)का शब्दमा एउटा पार्टी बन्नका लागि ३ आधारभूत तत्वहरु चाहिन्छन् (१४)। ती हुन् – एक, समर्थन गर्ने जनसाधारण र तिनलाई नेतृत्व दिने नेता । दुई, नेताहरुका बीचमा निरन्तर सहकार्यबाट पैदा हुने आबिष्कार (Innovation) । र तीन, नेता र जनताका बीच सम्बन्ध बनाइ राख्ने तत्व (Intermediate element) वा कार्यकर्ता आदि । माओवादी पार्टीको हकमा पहिलो तत्व सामान्यत: सक्रिय रहे पनि दोश्रो र तेश्रो तत्व करिब धाराशायी अबस्थामा छन् ।
माओवादी पार्टीको समस्याबारे तत्कालीन एकीकृत ने क पा (माओवादी) को आठौं केन्द्रीय समितीको पूर्ण बैठकले एक बस्तुवादी निष्कर्ष निकालेको थियो । त्यस बैठकबाट पारित प्रतिबेदन अनुसार पार्टीमा ३ मुख्य समस्या थिए, छन् (१५)। ती हुन् :– १) बर्ग उत्थनको समस्या, २) स्वतन्त्र निर्णय नहुने समस्या, र ३) बिधी र पद्दतीमा नचल्ने समस्या । पार्टीले आफ्नो वर्ग र समर्थक समूहलाई भन्दा बढी बिश्वास बिरोधी बर्गलाई गर्ने समस्याले पार्टी कमजोर भयो र अझै पनि ती समस्याको निरन्तरता भएमा थप समस्या आउने छन् । त्यस्तै, पार्टीले सबै परिस्थिती बिचार गरेर आफैं निर्णय लिनु भन्दा कहिं न कहिं बाट प्रभावित भएर निर्णय लिनाले पार्टी जीवनमा गंभीर समस्याहरु आएका छन् । र, पार्टीले आफैं निश्चित गरेको बिधी प्रकृयालाई मान्ने भन्दा पनि अरु लाई अर्ति उपदेश मात्र दिने, लागू नगर्ने ुमस्याहरु छन् । यो समस्याका कारण न पार्टी निर्णयहरु लागू गराउने संगठनात्मक अबस्था बिर्जना भएको छ, न त नयां जगमा पार्टीलाई उठाउन संभव नै भएको छ ।
एउटा कम्युनिष्ट पार्टी भित्र काम गर्दै जांदा समस्याहरु आउनु नौलो र अन्याथा होइन । तर, एउटै समस्या बर्षौं रहिरहने,नेतृत्वले त्यसलाई भनि पनि रहने तर समाधान नहुने गंभीर समस्या माओवादी आन्दोलनमा रहेको छ । कमरेड माओले सन् १९५१मा तीन खराबी बिरुद्ध, ०५२मा पांच खराबी बिरुद्ध, १९५३मा पांच अचाक्लीहरु बिरुद्ध अभियान चलाउनु भएको थियो । (१६) सोभियत संघले आफ्नो उत्कर्षका बेलामा पार्टीमा तीन खराब मान्छे रहेका निष्कर्ष सहित कारबाही गर्ने निर्णय गरेको थियो । त्यस्ता खराब आचरण थिए – १) नोकरशाह २) कूलिन र ३) बकम्फुसे (१७) । नोपालमा बिभिन्न समयमा, बिभिन्न तहमा बिगतमा कयौं खराब प्रबृत्तीलाई पहिचान गरिएको र ठेगान लगाइएको थियो । माओवादी पार्टी, तब कमजोर भैरहेको छ जब यसले आफूभित्रका संगठनात्मक प्रतिपक्षहरुलाई पहिचान गरी समाप्त पार्नुको साटो तिनलाई मल्हम पट्टी लगाएर, फूलबुट्टा भरेर जतन गरी राखेका छ ।
आज पार्टीको केन्द्रीय कमिटी हजारौंको संख्यामा बनाइएको छ । कार्यक्षमता र सक्रियता भन्दा अन्य गुटगत कुराहरु पार्टी संगठन निर्माणको आधार बनेका छन् । सरकारी मोर्चाहरुमा आफन्त र च्यानल मिलाउनेहरु फिट भैरहेका गुनासाहरु सुनिन्छन् । पार्टीका इमान्दार कार्यकर्ताहरु बिरोध गर्न पनि नसक्ने, समर्थन गर्न त झन् नसक्ने अबस्थामा छन् । एक प्रकारको मूर्दा शान्ति छ पार्टीमा । कुनै पनि तहको जिम्मेवार नेता आफ्नो कमिटीको निर्णको प्रतिरक्षा गरहरहेको हुंदैन । एउटा फेसन, तडक भडक र बढीमा प्रयोगको साधन भएका छन् आज पार्टी कमिटीहरु ।
तैपनि, उपरोक्त यावत् चर्चाहरुको अर्थ अब माओवादी आन्दोलनको भविष्य छैन भन्ने होइन । आज भन्दा ५० बर्ष अगाडी भारतमा कम्युनिष्ट पार्टीहरुको अबस्था निकै नै बलियो मानिन्थ्यो । कतिपय राज्यहरुमा बर्षौं सरकार चलाएका भाकपाका नेताहरुलाई भारतको प्रधानमन्त्रीको दावेदार समेत मानिन्थ्यो । समाजमा कम्युनिष्टहरुको अबस्था अर्कै र सम्मानजनक थियो । त्यसबेला एक जेलमा रहेका त्यहांका बिख्यात क्रान्तिकारी नेता नागभूषण पटनायकले फुट र गुटबन्दीले ग्रस्त कम्युनिष्ट पार्टीहरुबाट दिक्दार भएर भारतको सबै कम्युनिष्टहरुलाई एकताबद्ध भएर अगाडी बढ्न अपील गरेका थिए । (१८) उनको चिन्तालाई नसुन्दै अघि बढेको भारतको कम्युनिष्ट आन्दोलन अहिले एक प्रकारले बिसर्जनको अबस्थामा छ । तीसौं बर्ष अगाडीबाट लडिरहेका भारतीय माओवादीहरु अरु ५० बर्ष दिल्ली नपुग्ने निश्चित छ । उता, भारतीय लोक सभामा संसदीय कम्युनिष्टको संख्या गन्न दुईटा हातका जम्मै औंला पनि चाहिन्न।
तसर्थ, नयां ढंगको पार्टी निर्माण गर्दै फेरि शक्ति र बिश्वासका साथ अगाडी बढ्न अझै ढीला गर्ने समय माओवादीसंग छैन । नेपालको बस्तुगत अबस्थाले आजको नेकपा (माओवादी केन्द्र)को कार्यदिशा र उपस्थितीलाईलाई सहि र आबश्यक बताउंछ । नेपालमा बिभिन्न प्रकारका उत्पीडनहरु रहुञ्जेल नेपालबाट माओवादी आन्लोलनलाई स्वयं माओवादीले बाहेक अरु कसैले समाप्त पार्नै सक्दैन । त्यसकारण, आत्मगत रुपले सशक्त बिकल्पका रुपमा अघि आउन माओवादीले जति ढीला गर्छ, देश उति नै पछि पर्ने छ ।
समाधान
माओवादी भित्रको संगठनात्मक समस्या समाधानका ३ उपायहरु हुन सक्दछन् । पहिलो, सहि राजनैतिक कार्यदिशा । दोश्रो, त्यस कार्यदिशा प्रति पूर्ण प्रतिबद्ध नेतृत्व । र, तीन, स्पष्ट बिधीका आधारमा पार्टी संचालन ।
विख्यात माक्र्सवादी चिन्तक एन्टोनियो ग्राम्सीका अनुसार एउटा पार्टी प्रगतिशील वा अप्रगतिशील (regressive) के हो भने छुटाउने केही शर्तहरु हुन्छन् । संगठनात्मक रुपमा जनवादी केन्द्रीयता वा लोकतान्त्रिक तरिकाले चलेको पार्टी प्रगतिशील हो । अप्रगतिशील पार्टी नोकरशाही किसिमले चल्दछ । ग्राम्सीको बिचारमा दोश्रो प्रकारको पार्टी सजिलो हुन्छ किनिकी त्यहां बिचार गरिराख्नु नपर्ने प्रसाशकहरु हुन्छन् । प्राबिधिक रुपमा मात्र त्यहां नीति निर्माणको तह हुन्छ तर यस्तो दल राजनीतिक पार्टीको नाममा रहस्यले भरिएको एक प्रहसन मात्रै हो । (१८)
सन् १९२७मा चीनको हुनानमा जमीन्दारहरुका बिरुद्ध गाउंले किसनहरुले बिद्रोह गरे । त्यसलाई कम्युनिष्ट पार्टीले नेतृत्व दियो । पछि हुनान किसान आन्दोलनकोबारे माओत्सेतुंगले पार्टी केन्द्रीय समिति समक्ष १४ बुंदाको एक लम्बेतान रिपोर्ट पेश गरे (१९) । नेपालका कम्युनिष्टहरुका बीचमा त्यो निकै लोक प्रिय थियो। त्यस रिपोर्टको पहिलो बुंदामै माओले किसानहरुलाई संगठित गर्नुलाई एक महान् उपलब्धी बताएका छन् । संगठन लाई माओले कति महत्व दिन्थे भन्ने कुारको एक सानो उदाहरण मात्रै हो ।
नेपालमा माओवादी आन्दोलनको पुनस्र्थापनाका लागि पहिलो शर्तका रुपमा माथि उल्लेखित ग्राम्सीको बैचारिक आधार र माओको संगठनात्मक आधारलाई प्रस्थान बिन्दु बनाउनै पर्छ ।
‘आज हाम्रो पार्टीमा संगठनात्मक कुनै पद्धती छैन । व्यक्तिहरु कमिटी मातहतमा छैनन। पार्टीका तल्ला कमिटीहरु र माथिल्ला कमिटीका बीच सम्बन्ध छैन । न त सर्ब सम्मत छ, न बहुमत अल्पमत नै छ । गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाइ रहेको छ । यो कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त र बिधिको ठाडो उल्लंघन हो । ........हाम्रा कमिटीहरु अस्तव्यस्त छन् । भएका कमिटीहरु केवल औपचारिकतामा सीमित छन् । कमिटीहरु बेवारिस बन्न गएका छन् । केही व्यक्तिहरु मात्र चलेका छन् ती पनि आफ्नै स्वार्थले । कमिटीहरु निस्प्रभावी बन्नुले आम कार्यकर्ता परिचालन र जनपरिचालन शून्य जस्तै हुन पुगेकोछ ।’ (२०) २०६९ सालको फागुनमा सम्पन्न तत्कालीन ए ने क पा (माओवादी) को सातौं महाधिबेशनमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत भई पारित भएको दस्ताबेजको एक अंश हो यो । आज चार बर्ष पछि पनि माओवादीको संगठनात्मक अबस्था झन् पछि झन् खस्किदै किन गैरहेका छ ? गंभीरता पूर्वक बिचार गर्नु पर्ने भएको छ ।
नेपाली समाजको वर्तमान अबस्था र नेपाली क्रान्तिको आगामी कार्यदिशाबारे माओवादी केन्द्रको वर्तमान दृष्टिकोण अन्तरिम खालको छ । २०७३ जेठ ६ गते साना ठूला १० माओवादी समूहहरुका बीचमा एकता भए पश्चात त्यस खालको अन्तरिम कालीन कार्यदिशा र समझदारी अपनाइएको छ । त्यस कार्यदिशाले नेपाली समाजको बर्तमान अबस्थाबारे (अर्ध सामान्ती कि पूंजीवादी) स्पष्ट बोलेको छैन । त्यसै गरि प्रधान अन्तरबिरोधबारे, तत्कालीन कार्यभारहरुबारे पार्टीमा पर्याप्त प्रष्टताको आबश्यकता छ । यस्तो आबश्यकता पार्टीका शीर्ष नेताहरुलाई छ कि छैन भन्ने प्रश्न होइन, सिंगो पार्टी त्यसबारे प्रष्ट र मुखर हुनु आबश्यक छ । माओवादी केन्द्रको संगठनात्मक चुनौती सामना गर्ने त्यो एक अत्याबश्यक कदम हो ।
नेपालको माओवादी आन्दोलनले जे जस्ता उपलव्धीहरु हासिल गऱ्यो, निसन्देह त्यसको नेतृत्वका हिसबले अध्यक्ष प्रचण्डलाई त्यसको श्रेय जान्छ । पछिल्लो चरण आन्दोलनमा देखिएका समस्याहरु समाधान गर्न प्रचण्डले लिएका पहलहरु सामान्य छैनन् । तर, व्यबहारिक रुपमा तिनको नतिजा किन सुल्टो भैरहको छैन ? मूल नेतृत्वका रुपमा प्रचण्डका, सहयोगी साथीहका, कार्यकर्ताका, बिचार वा पद्दतीका – के समस्याहरु कति हुन ? यस कुराको गंभीर संश्लेषण अब आबश्यक भएको छ । यो संश्लेषणलाई कसिलोसंग समातेर मात्रै माओवादी पार्टीको आगामी भविष्य उन्नत हुन सक्छ । त्यस दिशामा सिंगो पार्टीले पहल गर्न ढीला गर्न हुंदैन ।
उपरोक्त दुई कुराहरु भए पछि पार्टीले केही बिधीको बिकास गरेर नेतृत्व निर्माण गर्दै जानु पर्दछ । यस प्रकारको प्रकृयाको प्रारम्भिक बाटो भनेका पार्टी भित्रको आन्तरिक निर्वाचन नै हो । तर, कम्युनिष्ट पार्टीले चुनाव गर्दा पूंजीवादी बाटो अपनाउंनु हुंदैन । पूंजवादी दर्शन व्यक्तिवादी भएको हुनाले त्यसले व्यक्तिगत मतलाई हरेका कुराको निर्धारक मान्ने गरेका छ र त्यहि अनुसार निर्बाचन पद्दती पनि बिकास गरेको छ । हामी कम्युनिष्टहरु पनि व्यक्तिलाई केही पनि होइन भन्न सक्दैनौं, त्यसो होइन पनि । व्यक्ति समाज वा संगठनको आधारभूत इकाई हो, लक्ष्य होइन । संगठनको लक्ष्य हो– समाजिक अबस्थामा रुपान्तरणबाट व्यीक्तगत अबस्थामा सकारात्मक परिवर्तन । यो मान्यता कम्युनिष्ट पार्टीले अपनाउने आन्तरिक निर्बाचनमा अभिव्यक्त गर्नु पर्दछ ।
ठोस रुपमा भन्दा समग्र निर्वाचनको पचास प्रतिशत भार व्यक्तिगत मतले र बांकी आधार भाग संगठनात्मक मतद्धारा टुंगो लाग्ने गरी कम्युनिष्ट पार्टी भित्र चुनाव गर्न सकिन्छ । व्यक्तिगत मतबाट व्यक्तिहरुका बीचमा काम गर्ने वातावरण जीवन्त हुन्छ भने संगठनात्मक मतबाट इतिहास, अनुशासन, निरन्तरता, त्याग, बिशिष्ट योगदान आदि भएका कार्यकर्ताहरु बार्टीमा बलियो भइ रहन्छन् । संगठनात्मक मतदान कुनै नेता बिशेषको तजवीजबाट हुने नभई एक शक्तिशाली निकायद्धारा बनाइएको आम नियम र खुल्ला सूचांकको आधारबाट हुनु पर्दछ । यसरी पनि छुट्न पुग्ने थोरै प्रतिशत नेताहरुलाई अत्यन्त सानो संख्यामा मनोनयन गरेर पनि हल दिन सकिन्छ ।
कम्युनिष्ट संगठनमा आधारभूत रुपमा ध्यान दिनु पर्ने अर्को पक्ष भनेको संगठनबाट सम्मानजनक विदा दिने परिपाटी बसाल्नु हो । झण्डै ६५ बर्ष अगाडी स्थापना भएको कम्युनिष्ट पार्टीमा प्रारम्भ देखि काम गरेका युवाहरु अहिले बृद्ध अस्थामा छन् । तिनलाई संगठनमा क्रियाशील हुन नसकेकै आधारमा अपमान वा बेवास्ताको अनुभूति हुन दिनु हुंदैन । कुनै पनि दीर्घजीवि पार्टीमा केबल आउने परिपाटी मात्र बसाल्ने, विदा वा व्यबस्थापनको परिपाटी बारे नसोच्ने कुरा सहि हुंदैन । यसबारे छलफल गर्दै बृद्ध र अग्रज नेताहरुलाई पार्टीकै व्यबस्थापनमा गौरब पूर्वक बांच्ने अबस्थाको सिर्जना गर्नु पर्दछ ।
अन्त्यमा, नेपालमा माओवादी आन्दोलनको भविष्य उज्यालो छ तर एउटा शर्तमा – पार्टीका नेताहरु समाजका लागि आफैं बल्न सक्नु पर्दछ । फरक धार स्थापित गर्न र नेतृत्वमा ल्याउने हिम्मत गर्न सक्नु पर्दछ । आज माओवादीमा हजारौं गरिब किसानका छोरा छोरीहरु नेता छन्, जो सहज रुपमा अन्य पद्दती अंगालेका पार्टीहरुबट अगाडी आउन संभव नै थिएन । माओवादीलाई पुनर्जिवन दिनु भनेको परिवर्तनको आकांक्षको पुनर्जीवन हो । माओवादीले परिवर्तन र क्रान्तिको संभावना निभ्न दिनु हुंदैन ।
फूटनोट
१. स्टालिन, जोसेफ, संगठनको बारेमा, क्रान्तिकारी पार्टी र नितका उपलब्धीहरु, वि.एन. पुस्तक संसार अद्धैतमार्ग काठमाण्डौ, फागुन २०६४ , पेज नं २६
२. लेनिन, लेनिनका संकलित रचना भाग–५,
I
assert 1) that no revolutionary movement can endure without a stable
organizations of leaders maintaining continuity
2)
the broader the popular mass drawn spontaneously into the struggle, forming the
basis of the movement and participating
on it, the greater the need for such an organization and the more solid it must
be… ;
3)
that the organization must consist chiefly of people professionally engaged in
revolutionary activity;
4)that
in an autocratic state, the more we confine membership of such an organization
of professionally revolutionaries trained in the art of combating the political
police, the more difficult it will be to unearth the organization ; and
5)
the greater the number of people from the working class and other social
classes who will be able to join the movement and work actively in it.
Cited
from From Marx to Mao Tse Tung by George Thomson, Page 464
#= Luxemberg, Rosa, Organizational
Questions of the Russian Sociualist Democracy,
https://www.marxists.org/archive/luxemburg/1904/questions-rsd/ch01.htm
(Granting, as Lenin wants, such
absolute powers of a negative character to the top organ of the party, we
strengthen, to a dangerous extent, the conservatism inherent in such an organ.
If the tactics of the socialist party are not to be the creation of a Central
Committee but of the whole party, or, still better, of the whole labor
movement, then it is clear that the party sections and federations need the
liberty of action which alone will permit them to develop their revolutionary
initiative and to utilize all the resources of the situation. The
ultra-centralism asked by Lenin is full of the sterile spirit of the overseer.
It is not a positive and creative spirit. Lenin’s
concern is not so much to make the activity of the party more fruitful as to
control the party – to narrow the movement rather than to develop it, to bind
rather than to unify it.)
$= Blanc Paul Le, Lenin and Luxemberg:
Through Each Other's Eye, Socialist Viewpoint,
http://www.socialistviewpoint.org/marapr_13/marapr_13_42.html
%= Thomson, Geogre, From Marx to Mao: A
study in REvolutionary Dialetics, Rahul Foundation, Lucknow, January 2010, Page
83
(
Lenin's theory of the "party of New Type," as developed by Mao Tse
Tung, may be considered under three heads: the vanguard party, democratic
centralism, and the mass line. )
६. माओ, पार्टी संगठनको सवाल, माक्र्सवादी–लेनिनवादी–माओवादी संगठनात्मक सिद्धान्त, रक्तिम प्रकाशन, नेपाल, २०६३ कार्तिक, पेज ६३
७. नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १, प्रकाशक– ए ने क पा (माओवादी ) मगरांत राज्य सम्मेलन आयोजक समिति, २०६९ माघ, पेज ५२९
८. उही, पेज ५३२
९ उही
१०. प्रचण्ड, छानिएका रचना भाग १, ( क्रान्तिकारी पार्टी र नितका उपलब्धीहरु, वि.एन. पुस्तक संसार अद्धैतमार्ग काठमाण्डौ, फागुन २०६४ ,बाट उद्धरण, पेज नं ५८)
११. उही ६०
१२. उही पेज ६७
१३ उही पेज पेज ४२
१४. Gramsci,
Anaonio, Selections from the Prison Notebooks, Lawrence and Wishart, London,
2003, Page 152 and 153
१५. एकीकृत ने पा (माओवादी)को आठौं केन्द्रीय समितिको बैठक ( दोश्रो संबिधान सभाको निर्बाचन नतिजा सार्वजनिक भए लगत्तै बसेको बैठक) बाट पारित प्रतिबेदन, पेज
१६. माओ, पार्टी संगठनको सवाल, माक्र्सवादी–लेनिनवादी–माओवादी संगठनात्मक सिद्धान्त, रक्तिम प्रकाशन, नेपाल, २०६३ कार्तिक, पेज १४७, १५९
१७. स्टालिन, जोसेफ, संगठनको बारेमा, क्रान्तिकारी पार्टी र नितका उपलब्धीहरु, वि.एन. पुस्तक संसार अद्धैतमार्ग काठमाण्डौ, फागुन २०६४ , पेज नं ३८, ३९
१८. Gramsci,
Anaonio, Selections from the Prison Notebooks, The Political Party, Lawrence
and Wishart, London, 2003, Page 155
१९. माओ, चुनिएका रचना भाग १, प्रगति प्रकाशन मस्को, हुनान किसान आन्दोलनको जांजपड्ताल, पेज ८७
२०. एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाली क्रान्तिको नयां संश्लेषण: एक ऐतिहासिक आबश्यकता (एकताको सातौं राष्ट्रिय महाधिबेशन द्वारा पारित प्रतिवेदन), पार्टीका संगठनात्मक समस्या र समाधान, केन्द्रीय प्रचार बिभाग एनेकपा (माओवादी) ,पेज ८३ र ८४
मिति १ मंसिर, २०७३
(मूलप्रबाह मासिक, २०७३ मंसिरमा प्रकाशित)
Comments
Post a Comment