यसरी बन्छ माओवादीको उज्जवल भविष्य




नेपाली समाजको चरित्र एवं संगठन तथा संघर्षको प्रकृतीलाई दीर्घकालीन र आधारभूत रुपमा प्रभाव पार्ने गरी हालसालै नेपालमा घटेका घटनाहरु मध्ये २ कुरा प्राथमिक महत्वका छन् । ती हुन् :– क) नयां संबिधान घोषणा ख) माओवादी पार्टीहरुको ध्रुवीकरण ।

नयां संबिधानको घोषणा नेपाली सामाजलाई आधारभूत रुपमा प्रभाव पार्ने एक मुख्य पक्ष हो । राजनैतिक दृष्टिले यसका चार प्रमुख कारणहरु छन् । १) यो संबिधान मुलुकको इतिहासमै पहिलो पटक जनता आफैंले आफ्ना लागि जारी गरेको संबिधान हो । बिगतमा जस्तो कसैले बकस दिएको, आफू भन्दा माथि अर्को शक्तिको प्रभाव स्विकार गरी जारी भएको संबिधान होइन यो । २) नयां संबिधान कयौं प्रगतिशील र क्रान्तिकारी मान्यताहरु समाबेश भएको दस्ताबेज हो । ३) नयां संबिधान जनताका क्रान्तिकारी आन्दोलनहरु मूलत: दश बर्ष महान जनयुद्धकै प्रत्यक्ष उपज हो जसले यथास्थितीवादी दलहरुलाई लतारेर अघि ल्याएको थियो । ४) नयां संबिधानमा कयौं कमी कमजोरीहरुेका छन् तैपनि संबिधान यसकारण स्विकार्य छ कि तिनलाई परिवर्तन गर्न जनमत मार्फत संबिधान शंशोधनको बाटो खुल्ला छ । माओवादी दृष्टिकोण अनुसार नयां संबिधानले नेपाली समाजको चरित्रमा आधारभूत परिवर्तन ल्याईदिएको छ जसले गर्दा नेपाली समाजका वर्गहरुके आपसी सम्बन्ध विकसित र रुपान्तरित भएको छ । कतिपय सूत्रवादी कम्युनिष्टहरु यो तथ्यलाई देख्न सक्दैनन् र संबिधानको समग्रमै बिरोध गर्दछन् । अर्को तिर, केही दक्षिणपन्थी संकीर्णतावादीहरु उपरोक्त तथ्यलाई ढाकछोप गर्न चाहन्छन् र पुराना कुराहरुमात्र दोहोर्‍याइ रहन्छन् । सच्चा कम्युनिष्ट तथा देशभक्तहरुले उपरोक्त दुवै कमजोरीहरुक विरुद्ध स्पष्ट बिचारधारात्मक संघर्ष संचालन गर्दै संबिधानको महत्वलाई आत्मसात् र स्थापना गर्न जोड गर्नु पर्दछ ।

नयां संबिधानका समग्र पक्षहरुबारे राजनीति शास्त्रीय, समाज शास्त्रीय, अर्थशास्त्रीय आदि अनेक कोणबाट छलफल र बहसहरु हुंदै जानु पर्दछ ।  माओवादी दृष्टिकोणबाट यस सन्दर्भमा एकदम स्पष्ट हुनुपर्ने तथ्य चाहिं यी दुई हुन् :– १) यो संबिधानलाई एक आकस्मिक घटनाको रुपमा नभई जनयुद्ध (अझ त्यस अगाडी पनि) देखिको समग्र राजनीतिक संघर्षकै एक प्रक्रियाका रुपमा बुझ्नु पर्दछ । बस्तुत: नयां संबिधान एक घटना होइन, बरु एक अबिच्छिन्न प्रकृया हो । २) नेपाली समाज अब एक पूंजिवादी समाजका रुपमा अघि आयो । सामन्तवादको मूलत: अन्त्य भयो ।

उपरोक्त दुई तथ्यहरुले नेपालको राजनैतिक काम, चिन्तन तथा कार्य प्रक्रिया र कार्य दिशाको फरकबारे एक स्पष्ट रेखा खिच्न मद्दत गर्दछ । त्यो रेखाले हरेक राजनैतिक कामलाई नयां संबिधान पश्चात एक नयां आयाम प्रदान गर्ने माग गर्दछ । यसर्थ, मूलत: (मूलत: किनभने नयां संबिधान मात्र होइन, यसलाई प्रभावित गर्ने अरु तत्वहरु पनि छन्) नयां संबिधान जारी भएसंगै राजनैतिक रुपमा नेपालको कम्युनिष्ट आन्दोलन संबिधानले आफ्ना एजेन्डाहरु संबोधन गरेको हद (जुन उल्लेखनीय रुपमा धेरै छ) सम्म नेपाल राज्यको संस्थापन पक्ष भएको छ । संगसंगै, ने क पा स्थापना देखि  जनयुद्ध सम्मको अबधीमा अपनाइएको नयां जनवादी क्रान्तिको कार्यदिशाबाट पनि यो अगाडी बढेको छ । अब नेपाली क्रन्तिकारी कम्युनिष्ट आन्दोलनको कार्यदिशा (जुन नेपाली समाजको आमूल रुपान्तरणको आधारभूत बाटो हो ) समाजवादी क्रान्तिको कार्यदिशा हुन पुगेको छ । यससंगै, संगठन, संघर्षको बिधी, कार्यशैली र कार्यकर्ता नीतिमा पनि व्यापक परिवर्तन आएको छ ।

टूटफूटमा विभक्त माओवादी धाराहरुके बीचमा पुन: एकीकरण र नयां आधारमा ध्रुवीकरण समकालीन नेपालको पछिल्लो महत्वपूर्ण विषय हो । तत्कालीन एनेकपा (माओवादी) सहित साना ठूला १० समूहहरु अध्यक्ष प्रचण्डको नेतृत्वमा पुन: गोलबन्द हुनु समयको माग थियो ।  माओवादी बिचारधाराका अझै एकाध समूहहरु अस्तित्वमा रहिरहे ता पनि  उपरोक्त एकताले क्रान्तिकारी शक्तिलाई थप मजबुत पार्दै नेपाली समाजको रुपान्तरणमा अझ योगदान गर्ने निश्चित छ ।

नेपालमा जारी नयां संबिधानले नेपालका वर्गहरुको ताजा राजनैतिक अबस्थालाई सतहमा ल्याई दिएको छ । माओवादीहरुका बीचको बृहद एकताले भने सर्वहारा वर्गको भावी रणनीति निर्माण गरी आसन्न वर्ग संघार्षमा त्यस वर्गको सुदृढ अबस्थाको तयारीलाई केन्द्रमा राखेको छ । यता पार्टी एकताले क्रान्तिकारी तप्काको बस्तुगत रुपान्तरण र आत्मगत सबलतालाई व्यक्त गरेको छ, उता नयां संबिधानले  नेपालको परिवर्तित बस्तुगत अबस्थालाई प्रतिबिम्बित गरेको छ ।

उचाइको अपेक्षा 

के माओवादी शक्तिले नेपाली समाजको आमूल परिवर्तन गर्न सक्छ ? के यो शक्ति संघर्ष वा प्रतिस्पर्धाको मैदानाबाट फेरि सर्बश्रेष्ठ चुनिन सक्छ ? आज माओवादी आन्दोलनले पार्टी भित्र र बाहिरबाट समेत सामना गर्नु परेका आम र गंभीर प्रश्न हुन् यी । यस’ वा नो’ मा यी प्रश्नहरुको सरल हल दिन सकिन्न ।  यसका लागि केही आधारभूत सवालहरुबाट गुज्रनु पर्ने हुन्छ ।

नेपालको माअ‍ेवादी आन्दोलनसंग तल उल्लेखित चार सकारात्मक आधार रहेको छन् जसले यो आन्दोलनको बिजयको संभावनालाई बल प्रदान गर्दछन् । पहिलो, अधिकांश गरिब किसान र मजदूरहरु, न्यून ज्यालामा काम गर्ने श्रमजीविहरु, देश भक्तहरु, विभिन्न मुक्तिकामीहरुको आवाज बोल्ने, तिनमा पहलकदमीको तरिका र बल दिने, तिनलाई माया र सम्मान दिने नेपालको उक मात्र शक्ति माआवादी हो । अर्थात, बिचार र कार्यक्रमका हिसाबले नेपालको माओवादी आन्दोलन जनता र देशका लागि एक अपरिहार्य आबश्यकता हो । दुई, माओवादी आन्दोलनमा नेपालका सबै जाती क्षेत्र, समुदायबाट लाखौंको पैमानामा कार्यकर्ताहरु छन् । उनीहरु पार्टी प्रति चट्टान झैं अडिग र आस्थावान छन् ।  ज्यानको परवाह नगरी युद्ध मैदानमा खट्ने देखि कठोर प्रतिस्पर्धाका हरेक चालसंग जुधेर पार्टी बचाउन यो पंक्ति अग्र स्थानमा आउने गरेको छ । नेपालमा माओवादी आन्दोलन पुन: अगाडी आउने अर्को प्रमुख आधार यहि हो ।  तेश्रो, नेपालमा माओवादी आन्दोलनसंग स्थापित नेतृत्व छ । यो नेतृत्वको अन्तर्राष्ट्रिय ख्याती छ । हरेक अप्ठ्यारोबाट पार्टी आन्दोलन बचाउन सक्ने, बिरोधी खेमा भित्र पनि खैलाबैला मच्याउन सक्ने, पार्टी बाहिरको ठूलो समूदायले समेत आशा र बिश्वास गरेको नेतृत्व पंक्ति छ । ने क पा (माओवादी केन्द्र) को नेतृत्व टीमले आफ्ना समस्त अनुभवहरु सहित पार्टीलाई नेपालको सर्बोत्कृष्ट र जनअनुमोदित बनाउने क्षमता राख्दछ । चौथो, नेपालमा माओवादी आन्दोलनसंग प्रतिस्पर्धामा रहेका अन्य पार्टी तथा समूहहरु बैचारिक दृष्टिकोणले कमजोर, इतिहासमा पटक पटक खोट लागेका र पछौटे छन् । उनीहरुसंग न देशको नेतृत्व गर्ने सहि दृष्टिकोण छ, न त बहुसंख्यक जनसमुदायको अपेक्षाहरुको उनीहरुले नेतृत्व गर्दछन् ।

उपरोक्त कारणहरुले गर्दा नेपालमा माओवादी पार्टीले आमूल परिवर्तनको नेर्तत्व गर्न र संघर्ष वा स्पर्धाको मैदानबाट श्रेष्ठता हासिल गर्न संभव छ ।

तीन कमजोरी 

तर, सजिलै र बर्तमान गतिमा मात्र सीमित रहेर माओवादी केन्द्रले त्यसप्रकारको  श्रेष्ठता हासिल गर्न गाहारो छ । त्यसका लागि कठीन मेहनत र व्यापक सक्रियता आबश्यक छ ।

दोश्रो संबिधान सभाको निर्वाचन पश्चात पेरिसडांडामा बसेको तत्कालीन केन्द्रीय समितिको बैठकले हाम्रो पार्टी आन्दोलनका समस्याहरुके सही संश्लेषण गरेको थियो । आज भन्दा तीन बर्ष अगाडी निकालीएका ती निष्कर्षहरु बस्तुत: अहिले पनि समन्दर्भिक नै छन् । ती समस्याहरुको समाधानमा सिंगो पार्टीले पहल गर्नु पर्दछ र नेतृत्व पंक्तिलाई ती गल्तीहरु नदोहोर्‍याउन खबरदारी गरिरहनु पर्दछ ।

पार्टीको उपरोक्त संश्लेषण अनुसार माओवादी आन्दोलनको पहिलो गंभीर समस्या हो– आफ्नो बर्गालाई बिश्वासमा लिन नसक्नु । माओवादी पार्टीका लागि आधा ज्यान दिएका, रगत, पसिसा, आंशु दिएका जनतामा यस पार्टी प्रति विश्वास पैदा गर्न नसक्नु निकै गंभीर कुरा थियो, छ । बरु यसको उल्टो, पार्टी मार्फत सरकारी लाभको पद देखि पार्टीकै बिभिन्न तह सम्म प्रतिवर्गीय पहुंचले पार्टी समर्थक बिशाल जनसमूह निराश हुन पुग्यो । यस कमजोरीलाई सच्याउन विगतमा यथेष्ठ ध्यान पुगेन । तर, अब पनि ध्यान नदिने हो भने  पार्टीका लागि स्थिती निकै गंभीर बन्न सक्छ । पार्टी/आन्दोलनमा देखिएको अर्को समस्या हो – स्वतन्त्र निर्णय गर्न नसक्नु । सर्बहारा वर्गको पार्टीले परिस्थितीको बस्तुपरक लेखाजोखा गरेपछि आफ्नो निर्णय आफैं गर्नु पर्दछ । तर, विगतमा पार्टीले खास खास मोडमा स्वतन्त्र निर्णय लिन सकेन। बरु कतिपय बेला निर्णयहरु अन्य पक्षहरुबाट प्रभावित समेत भए । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार ती मध्येको एक उदाहरण हो । अहिले पनि पार्टीले जव जव आफ्नो बारेमा, आफ्ना नीति र कार्यक्रमहरुक बारेमा आफ्नै पंक्तिमा भर परेर निर्णय लिन्छ, ती निर्णयहरुले सफलता पाउने गरेका छन् । हेर्दा सामान्य लागे पनि यो बिषय नेपालको कम्युनिष्ट आन्दोलनमा निकै गंभीर सवालको रुपमा रहेको छ । पार्टीले संश्लेषण गरेको अर्को समस्या हो– पार्टीलाई बिधी पद्दतीमा चलाउन नसक्नु । माओवादी आन्दोलन भित्र बिधी प्रकृयाको सवाल एक गंभीर सवालको रुपमा रहि आएको छ । ु जनवादी केन्द्रीयता’, ुसामूहिक नेतृत्व’ जस्ता अत्यन्त वैज्ञानिक पद्दती कम्युनिष्ट पार्टीमा रहंदा रहंदै पनि माओवादी आन्दोलन भने त्यहि माला जप्दै  बिधी पद्दती नै नमान्ने अबस्थामा आइपुग्यो । अहिले २५०० सदस्यीय पार्टी केन्द्रीय समिती त्यसकै एक भद्दा उदाहरण मात्र हो । जब सम्म बिधी र अनुशासन आफू भन्दा तलको पंक्तिले मात्र मान्ने हो भन्ने सोच विभिन्न तहको नेतृत्वमा रहिरहन्छ, यो समस्या समाधान हुंदैन । यसको अर्थ कार्यकर्तामा कुनै समस्या छैन भन्ने होइन । बास्तवमा पार्टीका जीवित धमनीका रुपमा रहेका कार्यकर्ताहरुमा बिधी स्थापना गर्ने, सिर्जनशील भएर नेतृत्वलाई सहयोग गर्ने आदि कुरामा प्रशस्त समस्याहरु छन् । तर, नेतृत्व आफैंले निश्चित पद्दती भित्र बसेर सिंगै पार्टीलाई त्यस भित्र नडोर्‍याउने हो भने माओवादी आन्दोलनको पुन: जीवन असंभव जस्तै छ ।

युवाको कांधमा 

नेपालको माओवादी आन्दोलन युवा वर्गमा आधारित आन्दोलन हो । जनयुद्धका ९५ प्रतिशत शहीदहरु, ९९ प्रतिशत घाइते योद्धाहरु र ८५ प्रतिशत नेता कार्यकर्ताहरु युवा उमेरका थिए । अहिले पनि पार्टी भित्र अत्यन्त ठूलो पंक्ति युवा समूदायबाटै रहेको छ । तसर्थ, पार्टीको सकारात्मक बिरासतलाई बोक्ने बलियो कांध लिएर युवाहरु आउनु पर्दछ । त्यस्तै, पार्टीका समस्याहरु ध्वस्त पार्ने हथौडा बोकेर पनि युवाहरु नै अगाडी आउनु पर्दछ । यसरी मात्र नेपालमा माओवादी आन्दोलनले पुन: विजय पाउन संभावना छ ।

क. प्रचण्ड नेतृत्वको अग्रज पुस्ताले नेपाली समाजको व्यापक रुपान्तरण गर्ने, कम्युनिष्ट आन्दोलनलाई सफलताको ठूलो उचाईमा पुर्‍याउने काम गर्‍यो । त्यस योगदानका निमित्त कमरेड प्रचण्ड लगायत जनयुद्धकालीन नेतृत्वका कमरेडहरु सम्मान र बधाइका पात्र हुनुहुन्छ । तर, आजको आन्दोलनका समस्याहरु पार्टी भित्रै भुमरी परेर घुमिरहेका छन् जसको समाधान गर्ने जिम्मा अब युवा वर्गले लिनु पर्दछ ।

मोहन विक्रम सिंहको जडसूत्रीय संशोधनवादका विरुद्ध निर्णयक लडांईं लड्दा क. प्रचण्ड २९ बर्षको लक्का जवान हुनुहुन्थ्यो । झापा आन्दोलनमा हतियार बोकी नेपाल कम्युनिष्ट पार्टीका पाका–पुराना नेताहरुलाई चुनौती दिने योद्धाहरु गधा पच्चीसीका युवाहरु नै थिए । बृद्ध गिरिजा प्रसाद कोइराला नेतृत्वको पुरानो सत्तालाई धक्का दिंदै पहिलो संबिधान सभाका क्रममा पछार्ने कमरेड प्रचण्ड तुलनात्मक रुपमा युवा नै हुुनुहुन्थ्यो । अमेरिकामा युद्ध र गोरो रंगका उन्मादी  जर्ज बुशलाई सत्ताबाट झार्ने बराक आवामा युवा नै थिए । कम्युनिष्ट घोषणा पत्र लेख्ने कार्ल माक्र्स, सोभियत सत्ताको नेतृत्व गर्ने लेनिन हुन् वा चमत्कारी बैज्ञानिक अल्वर्ट आइन्स्टाइन हुन् – सबै युवा हरु नै थिए ।

नेपालमा माओवादी आन्दोलनलाई पुनर्जिवन दिने र देशको नयां ढंगले नेतृत्व गर्ने पनि अब युवाहरु मध्ये बाटै हुनेछन् । जागौं, पहलकदमी लिऔं र इतिहासको दायित्व निर्वाह गरौं ।

written by 2072 BS



Comments

Popular posts from this blog

शिक्षा : परिवर्तनको पैरवी

कमरेडको फोन

कोरियामा पिल्सिएको नेपाल : एक अनुभूति