शहीद परिवारको पीडा र पार्टी अनुभूति





                                                  
आइतवार सांझ अघिपछि भन्दा अलि चांडै डेरामा आइपुगेको थिएं । बच्चाहरुको पढाई के कस्तो भैरहेको छ भनेर केही समय उनीहरु संग बस्ने योजनामा थिएं ।  छोरीलाई आऊ भनेर बोलाएं । बोलिनन् । हेरें – उनी त गुत्थिएर गजधम्म भएर पो बसेकी † बोकेर अर्को कुना सम्म पुर्‍याएं । माया गर्दै के भयो भनेर सोधें ।  उनी त रुन थालिन् । केही बेर सोधे पछि भक्कानिदै भन्न थालिन् : ‘ मेरो बाबा मर्नु भ’को रछ होइन ? मलाई किन ढांटेको ? ’ काखमा छोरी लिएर म थचक्क ओच्छ्यानमा बसें । मनमा कस्तो कस्तो गह्रौं भएर आयो ।  घांटीमा केही अड्किन थाल्यो ।  छोरी काखमा घुंक्क–घुंक्क रोइरहेकी थिइन , मेरो पनि आंखा रसाउन थाले ।  आंसुका ताता ढीक्काहरु छोरीको जिउमा पर्न थाले छ ।  उनी मलाई हेर्न थालिन् – अन्यमनस्क र द्रवित भावले । मैंले उनलाई अंगालोमा बांधें र भनें–‘ अब देखि कहिल्यै त्यसो नभन है † कहिल्यै †† तिम्रो बाबा मरेको होइन छोरी †’ रोइरहेको पुरुष मान्छेलाई सायद पहिलो पल्ट देखेकी छोरीले ‘हुन्छ’ को भावमा मुन्टो हल्लाइन् ।  

महान् जनयुद्धका क्रममा २०६१ असार ३१ गते शहीद बनेको मेरो भाइकी सानी छोरीसंग यति कुरा भए पछि  मलाई धेरै दिन सम्म त्यो घटनाले कोतरिरह्यो । एकातिर आफ्नो प्रिय भाइलाई गुमाउनु पर्दाको निरन्तर पीडा थियो, अर्को तिर छोरीका अबोध प्रश्नहरुको सामना गर्न नसकेको चोट थपियो । विगत भन्दा वर्तमान झन् पीडादायी र संवेदनशील बन्दै गैरहेको महशुश गर्न थालें । एक पटक कोठाको कम्प्युटरमा पुराना भिडियो फाइलहरु चेक गर्दै थिएं । मेरो पछाडि घरबाट भर्खरै आएर बस्नु भएको थियो मेरा बा ।  सदरखोर डिल्लीबजारमा राज्य द्रोहको अभियोगमा बन्दी हुंदा ताकाको भाइको एउटा भिडियो खुल्न पुगेछ ।  भाइले जेलको चीसो. छिंडीमा पनि हांसेर बोलेको, राम्रो भाषण गरेको भिडियो थियो त्यो । सरकारसंग वार्ताकालागि आएको माओवादी वार्ता टोलीका नेताहरु जेल भ्रमणमा जांदाका दृश्यहरु आए । मेरो अगाडी त्यो भिडियो चल्न थाल्यो , पछाडिबाट बा हिंक्क हिंक्क गरेर रुन थाल्नु भयो ।  बाहिर रात परिरहेको थियो, चुल्होमा भात सेलाइरहेको थियो, बाको नेतृत्वमा सिंगो कोठा घुंक्क घुंक्क रोइरहेको थियो । त्यो सांझ रामेछाप देखि थाकेर आएका बालाई न मैंले ‘भोक लाग्यो होला खाना खाउं’ भन्न सकें, ‘न नरुनू म छु’ भनेर सम्झाउन नै सकें । मनमा जांतो झुण्डिरह्यो, नाकमा पीरो धुवां आइरह्यो । मुटुमा खाक्सी लगाए जस्तै पीडाको स्वास तानेर मैंले रात गुजारें । 

परिवारमा हरेक मान्छेको छुट्टै र मौलिक स्थान हुन्छ । ऊ नहुंदा त्यो स्थान निरन्तर खाली हुन पुग्दो रहेछ ।  कसैले चाहेर, हजार कोशिस गर्दा पनि  त्यो स्थान मेटिदो रहेनछ ।  आज मलाई सपना जस्तै लाग्छ – म भन्दा २ बर्ष मात्र कान्छो, साथी जस्तो मेरो प्यारो भाइलाई जनयुद्धको उकालो बाटोमा मैंले गुमाएं ।  मेरो गाउंको पात पातमा, जीवनका हरेक विगतहरुमा उसका स्मृतीहरुले मलाई छुन्छन्, रुवाउंछन् ।  काठमाण्डौका सडक र जेलका छिंडीहरु सम्मका उसका संघर्ष र विजयले मलाई द्रवित तुल्याउछन् । एउटा आवेग र संकल्पले म जनयुद्धमा हान्निएं । मलाइृ पछ्याउंदे मेरो प्रिय भाइ त्यहि मोर्चामा सामेल हुन आयो ।  झरी परेको , धरती रुझेको एक सांझ शाही सेनाको गोलीको निशाना भएर ऊ शहीद भयो ।  अम्बर गुरुङको गीत जस्तै भयो : भाइ वीर भएर ढल्यो, परिवारले गोली सहनु पर्‍यो ।  

कल्पना गर्न पनि कति कठीन हुन्छ – एक्काइस बर्षको उमेरमा कुनै बृद्ध–बृद्धाको छोरा मारियोस र उनीहरु डांको छाडेर रुन पनि नपाउने आतंकको छांया मुनी बिस्तारै रुदै जीवनलाई घिसारेर बांचिरहुन ।  मेरो मात्र होइन, जनयुद्धको क्रममा शहीद बनेका प्रत्येकको परिवारमा यस्तै भयो । भइरहेको छ ।  

जनयुद्धको क्रममा मैंले जनसंगठन, पार्टी संगठन र सेना सबै तिर काम गरें ।  युद्धका मोर्चाहरुमा बिस्कुन सरि सयौं लासहरु  देखें । कान खाने बन्दुकका आवाजहर संग साक्षात्कार गरें । बात मार्दै लडांइमा गएको साथी सहीद भए पछि अन्तिम सलामी गर्दै उसको बन्दुक टिपेर अझ चोटसंग लड्न सिकें ।  तर, यो मेरो कथा होइन ।  यो भोगाई जनयुद्धका प्रत्येक सहभागीहरुको जीवन्त अनुभूती हो ।  उनीहरुले कहिल्यै कहिल्यै ‘म’, ‘मेरो’ वा ‘मलाई’ भनेनन्, पार्टी मात्र पार्टी भनिरहे । उनीहरु घर गए सरी मृत्यु विजयको यात्रामा गए ।  

जनयुद्धको मोर्चामा हरेक कुरा सामूहिक थियो ।  पार्टी संगठन देखि स–साना व्यक्तिगत मामला समेत एकल वा वैयक्तिक विषय थिएनन् । आंशु सामूहिक थियो ।  हांसो सामूहिक थियो । पीडा र गौरव पनि सामूहिक थियो ।  दाहिने हातमा राइफल उचालेर  आकाश थर्काइरहेका योद्धा हुन् वा झोलामा व्यक्तिगत संसार बोकेर हरेक पल जनता संग बिताइरहेका संगठक – कति प्रिय, कति सुन्दर  थिए ।  पार्टी भित्र आत्मालोचनाको सौन्दर्य थियो ।  सहकर्मीहरुका आलोचना पनि कति प्रेरणादायी र मीठा लाग्थे । जीवन तीव्र अनिश्चित थियो तर चौपट्ट सुन्दर लाग्थ्यो । अहिले फर्केर हेर्दा लाग्छ – ती दिन यो मुलुक र यो पार्टीका लागि गौरव र प्रेरणाका दिनहरु थिए । 

तर, कति छिट्टै दुनियां वदलियो ††† 

जनयुद्धका सेनाहरुले आज खाडीमा गधा चराउंदै गरेको आफ्नै आंखाले देख्नु पर्‍यो । वर्ग प्रेमको हुंकारले आकाशको रंग वदलिदिन सक्ने योद्धाहरु विदेशमा कुल्ली र दरवान बनेको देख्नु पर्‍यो । हिजोको बहादुर कमाण्डर आज अनपढ र अयोग्य बनेर भौंतारिइरहेको देख्नु पर्‍यो ।  

आजकल नेपालको राजनीतिक बजारमा माओवादीको आलोचना खुवै विकाउ माल हुने गर्छ ।  यो प्रतिस्पर्धामा वाम र दक्षिण दुवै ध्रुवका पात्रहरु बल गरेर लागेका छन् ।  उनीहरुलाई शहीद परिवारको आंशु यसकारण उल्लेखनीय लाग्छ कि त्यो माओवादीको मुखमा छर्कने तेजाव हुन सक्छ ।  यो पक्षमा हिजोदेखिका सचेत राजनीतिक योद्धाहरु सजग रहनै पर्दछ ।  तर कुरा यहिं सकिदैन । पार्टी प्रति प्रतिबद्ध रहदैं यसका नकारात्मक पक्षहरुको आलोचना गरेर बिषय अगाडी बढाउन सकिन्छ । हिजो आफ्ना कमरेडहरुले खाए– नखाएको निरीक्षण गर्ने, सुत्दा समेत सबैलाई ठाउं र लुगाफाटो पुगे नपुगेको हेर्ने दयालु पिता समानका  हाम्रा नेताहरु आज किन बदलिएर हाकिम र प्रशाशक जस्ता बेमतलवी भए ? हिजो स–साना कुरामा पनि सबैको मतो लिएर काम गर्ने पार्टी आज किन भदौमा चट्याङ परे जस्तो ड्याङ ड्याङ निर्णय गर्ने  पार्टीमा फेरियो ? हिजो दलित संग बिहे गर्ने,टुप्पी काट्ने उच्च जातका कमरेडहरु आज किन दशौं लाख खर्चेर धार्मिक बिधी अनुसार ऐयासी बिहे गर्नेमा वदलिए ? यी यक्ष प्रश्न हरुको उत्तरमा कुटील हांसो सहितको चलाख उत्तरले काम गर्नेवाला छैन ।  
हिजोको सानो पार्टी आज बिशाल भएको छ ।  आजका कतिपय नेताहरुले सोचे वा गर्ने गरे जस्तो संगठनको अंक गणित मात्र मिलाएर यो पार्टीले विशालता पाएको पक्कै होइन ।  शक्तिको लालसामा भल छोप्दै हिंडेर पनि यो शक्तिले उचाई हासिल गरेको होइन । आज जव संगठनको अग्लो कुर्सीमा बसेका आदरणीयहरु आफ्नै इतिहासलाई भुलेर बाहिर रमिता देखाउन थाल्छन् – प्रत्येक शहीद परिवार र वास्तविक योद्धाहरुको मन चहर्‍याउन थाल्छ । जव बिकृतीको डंगुरमा उभिएर कोही सेन्ट छर्केको लुगामा आफूलाई प्रदर्शन गर्न थाल्छ, अनि दिक्दारी बढ्न थाल्छ ।  पार्टी त त्यति बेला राम्रो हुन्छ –जव त्यसले नराम्रो विरुद्ध लड्न थाल्छ । नराम्रो पक्षलाई हटाउने, त्यस बिरुद्ध लड्न सार्वजनिक रुपले प्रतिबद्ध भए पछि र सांच्चै त्यसो गर्न थाले पछि पार्टी स्वत: बलियो भै हाल्छ ।  

राजनीतिक कार्यदिशामा आजको ए ने क पा (माओवादी) ले जुन मोड लिएको छ, त्यसमा प्रश्नहरु होलान , तर मूलभूत रुपमा यो ठिकै छ ।  व्यावहारिक दृष्टिमा माओवादी आज जहां छ – त्यो ऊ आउनु पर्ने ठाउं नै होइन ।  संस्कार, संस्कृती, चिन्तन शैली र दैनिकीमा ऊ नजानु पर्ने ठाउंमा गइरहेको छ ।  यसलाई सच्याउन पहल गर्नु पार्टी र आन्दोलनलाई बिरोध गर्नु होइन । बरु मजबुत नै पार्नु हो ।

जनयुद्ध नेपालको इतिहास बदल्ने एउटा परिघटना थियो ।  जनयुद्ध यिनै नेताहरुको पहलमा भयो – जो आज पनि पार्टीको मुख्य नेतृत्वमा छन् । युग वदल्ने नेताहरुले आजको कच्ची राजनीतिक मार्गका स–साना खाल्डा–खुल्डीहरु देखि डराउनु पर्दैन । जनयुद्धको मूल प्रवृत्तीलाई आजको पार्टीको मेरुदण्ड मानेर चले पुग्छ ।  बांकी काम जनयुद्धको पुस्ता र जनयुद्धलाई सांच्चै आत्मसात् गर्न चाहने कार्यकर्ताहरुले पुरा गर्ने छन् ।  
हिजो आज इतिहास प्रति डर लाग्छ । शहिदकी श्रीमती रत्न पार्कमा मकै पोलेर टुहुरा बच्चा पाल्ने, अनि हामी नेताहरु चिल्ला गाडीमा सवार भएर शहादातको ‘महिमा गान’ गर्ने समय नआओस † बलिदानीको मूल्यमा शहीदको परिवार कुल्ली र सुकुम्वासी नबनोस् । कतै बुभm्ने भै सके पछि शहीदका छोरा छोरीहरुले यसो नभनून –‘ नेताज्यू † शहीद देशको हुन्छ भनेको होइन  ? ’

 समाप्त ।

(२०७१मा जनआस्था साप्ताहिकमा प्रकाशित )

Comments

Popular posts from this blog

शिक्षा : परिवर्तनको पैरवी

कमरेडको फोन

कोरियामा पिल्सिएको नेपाल : एक अनुभूति