कमरेडको फोन

कमरेडको फोन

बाह्र बर्ष पछि
मेरो छाप्रोमा कमरेडको फोन आयो।

एक जुगमा
प्रिय थिए उनी मेरा बच्चाहरुका
मैंले नजानेका
रमाइला बाल कथाहरु सुनाउंथे उनी
नियास्रो मान्थिन् मेरी जहान
मैंले कहिल्यै नहेरेका
भान्साका मसिना कामहरु सघाउंथे उनी
मेरो टोलका सप्पै किसानहरु
रमाउंथे उनीसंग
दु:खका कथा हाल्थे
दु:खमा कॉध थाप्थे
भारी झोला बोकेर मोजा गन्हाउंदै
जब उनी टुसुक्क खटियामा बस्थे
गजबको आत्मीयता बसाउंथ्यो
मेरो झुपडी भित्र।

जहान क्यान्सरले बितेको
सात बर्ष भयो
उनले खेलाएको ठूलो छोरो
साउदी भासिएको तीन बर्ष भयो
दिव्य चार बर्ष भएछ छोरीकै बिहे भएको
के सुनाऔं
के भनौं
मन उद्वेलित भयो
छाती ढक्क भयो
बाह्र बर्ष पछि
मेरो छाप्रोमा कमरेडको फोन आयो।

नम्बर जम्मै मेटिइसकेको
नोकियाको थोत्रो सेटमा
कचक्क थिचेर
जब शुरु भयो बातचीतको सिलसिला
कमरेडले मेरो घरबारे सोधेनन्
आफैंले खेलाएका बाबु/नानीहरुबारे सोधेनन्
मरीसकेकी जहानबारे सोधेनन्
किसानहरुबारे सोधेनन्
कमरेडले सोधे-
'दाजु, तपाईको बस्ती तिर
जग्गाको भाऊ कति पुग्यो?'

-----२०७३/१०/०२--------

Comments

Post a Comment

Popular posts from this blog

शिक्षा : परिवर्तनको पैरवी

कोरियामा पिल्सिएको नेपाल : एक अनुभूति