रात फूलेको याम : एक सुन्दर ऐतिहासिक उपन्यास
–युवराज चौंलागाईं
हिजो आज माओवादी आन्दोलनका बारेमा सकारात्मक भन्दा नकारात्मक चर्चाहरु बढी हुन थालेका छन् । असंवेदनशील देखिने नेतृत्व गण, थकित जस्ता कार्यकर्ता पंक्ति र पहुंचविहीन आम समर्थक समूहको कूल योगमा यस आन्दोलनबारे सकारात्मक भन्दा नकारात्मक चर्चाले बढी स्थान पाउनु अनौठो होइन । तर साहित्यको हकमा बरिष्ठ दरिएका माओवादी सर्जकमा आएको स्खलित मनोदशा मात्र यस आन्दोलनको समसामयिक पहिचान होइन, बरु नचिनिएका/नसुनिएका चिन्तक/सर्जकहरुले बिस्तारै आफ्नो धारको रक्षा र मौलिक विकास गरिरहेका छन् भन्ने कुराको पछिल्लो उदाहरण हो युवा उपन्यासकार दीपशिखाको रात फूलेको याम ।
रात फूलेको याम मूलत: न्याय पूर्ण हिंसाको समर्थन गर्ने प्रगतिशील मानवताबादी उपन्यास हो । उपन्यासले एकातिर हरेक मान्छेको आधारभूत अधिकारको पक्षमा खुला पैरवी गर्छ भने अर्कातिर एउटा मान्छे यदि सिंगो समाजका बहुसंख्यक मानिसहरुको अधिकारको विरुद्ध गएमा दण्डित गरिनु पर्ने तर्क पनि अगाडी सार्छ । सिंगो उपन्यास जनयुद्ध र जनआन्दोलनको पक्षमा दृढता पूर्वक उभिएको मात्र छैन, अपितु त्यस क्रममा भएका घटना क्रमहरुलाई सुन्दरतम् रुपमा प्रस्तुत समेत गरिएको छ । युद्धको सुन्दरता र आन्दोलनको लालीत्य उपन्यासको मौलिक पहिचानका रुपमा छ रात फूलेको याममा । साठीको दशकमा नेपालमा चलेको जनयुद्ध र लगत्तै संगठित विशाल जनआन्दोलनलाई दीपशिखाले तत्कालीन समाज, राजनीति तथा नैतिकताको सर्बोच्च स्थानमा राखेका छन् । भुंईतहको अपठित टुहुरो मंगले माझीलाई नायक बनाएर लेखिएको यो उपन्यास समाजवादी यथार्थवादको दृष्टिकोणद्वारा अभिप्रेरित सुन्दर ऐतिहासिक उपन्यास हो । दाबीका साथ भन्न सकिन्छ सिंगो देशलाई चेतना र राजनीतिक उपलब्धीको नयां उचाईमा उठाउन सफल दश बर्षे माओवादी जनयुद्धबारेको साहित्यिक तथा सामाजिक अध्ययन गर्न चाहने जो कसैले रात फूलेको याम पढ्नै पर्छ । रात फूलेको याम माओवादी जनयुद्धमा आधारित भएर लेखिएका सबै उपन्यास मध्ये उत्कृष्ट उपन्यास हो । जनयुद्धका फौजी र गैरफौजी, संगठित र व्यक्तिगत, योजनाबद्ध र आकस्मिक, केन्द्रीय र स्थानीय सबै प्रकारका उतारचढावहरुको प्रत्यक्ष तर कलात्मक प्रसारण हो यो उपन्यास ।
मंगले माझी एक गरीब गाउंले युवा हो जो आफ्नी विधवा आमा र टुहुरी बहिनीको सहारा बन्दा बन्दै माओवादी जनयुद्धप्रति निकट हुन पुग्छ । मंगलेबाट कमरेड याममा फेरिएको ऊ जनमुक्ति सेनाको कमाण्डर भएर अनेकौं मोर्चाहरुमा लड्न पुग्छ । यसै क्रममा ऊ एक मोर्चामा गंभीर रुपले घाइते हुन्छ । घाइते यामलाई बोकेर हिडेका साथीहरु प्रतिकूल अबस्थाका कारण उसलाई बीच जंगलमै छाडेर हिंड्छन् । ऊ आफ्नै पिसाब पिएर तिर्खा मेट्न बाध्य हुन्छ । बिबस ऊ केही मिनेटको बाटो रातभर अत्यन्त पीडा पूर्वक घस्रेर एक किसानको घरसम्म पुगि बेहोस हुन्छ । उसलाई ती किसान दम्पतिले स्नेहपूर्वक अनेकौं प्रतिकूलताहरुलाई परास्त गर्दै बचाउंदछन् । युद्धका क्रममा उसकी बहिनी र प्रेमिका शहीद हुन पुग्छन् । यामलाई पनि पार्टीले शहीद घोषणा गरि सकेको हुन्छ। गरिब र असाहाय आमा एक्लै घरमा बस्दा पनि आफ्नो छोरा छोरीका प्रति कुनै गुनासो गर्दिनन् बरु गौरवान्वित नै हुन्छिन् । उपचारका क्रममा जनस्वाथ्यकर्मी तथा शहीदकी जीवनसंगीनी कवितासंग प्रेम पश्चात बिबाह भएको याम जनआन्दोलनका बेलामा कलंकी आर्कको कमाण्डिङ गर्दै काठमाण्डौमा आउंछ । लेखकले जनआन्दोलनका बेलामा टाउकोमाथि स्याउला ओढेर हिंड्ने दुव्लापातला मानिसहरुलाई गाउंबाट आन्दोलनमा सहभागि हुन आएका र पक्का माओवादी कार्यकर्ताका रुपमा चित्रण गरेकाछन् । त्यहि आन्दोलनमा सहभागि हुंदै गर्दा नायक यामलाई काठमाण्डौमा बसी टेलिभिजन पत्रकारिता गर्दै गरेको उसको बाल सखाले भेट्छ । याम पत्रकारको कोठामा लगिन्छ र उसको जीवन बृतान्त सुनाउन लगाइन्छ । यामले भनेको कथा पत्रकारको शैलीमा जसरी प्रस्तुत हुन्छ, त्यो सग्लो उपन्यास हो । उद्यपी अनेकौं उपकथाहरुले उपन्यास सम्बृद्ध छ, तै पनि उपन्यासको मूल कथा यहि नै हो ।
रात फुलेको याम संक्षेपमा दश बर्षे जनयुद्धकालका यथार्थहरुको कलात्मक र सुरुचीपूर्ण दर्पण हो । उपन्यासमा गाउंले जीवनको गरिवीमात्र छैन, गरिबहरुको प्रेमिल मनको सुन्दर चित्रण पनि छ । जनयुद्धका युवाहरुको वलिदानी र उत्सर्गपूर्ण दैनिकीको कलात्मक प्रस्तुतीले सम्पन्न उपन्यासमा छापामार युद्धका अनेकन् कलाहरुको शानदार वर्णन पाइन्छ । उपन्यासमा जनयुद्धको प्रेम, विवाह, विछोड र पुन: विवाहका रोचक र मार्मिक प्रसंगहरु छन् । स्वाथ्यकर्मी कविताको आंधीमय जीवनीमा लेखकले करुणा, प्रेम र युद्धभावको यसरी वर्णन गरेका छन् कि जो कसैको पनि आंखा रसाउंछन् । महिला, दलित, सीमान्तकृत वर्गका मान्छेहरुको मनको आवाजलाई दीपशिखाले यसरी शव्दमा उनेका छन् मानौं कि ती उनकै अन्तस्करणका आवाज र भोगाइका जिउंदा डोबहरु हुन् । उपन्यासको एउटा सशक्त पक्ष के छ भने लेखक आफैं जनयुद्धका एक कुशल कमाण्डर हुंदा हुंदै पनि उनको विश्लेषण जनयुद्ध प्रति एक पक्षीय छैन । नायक यामको गाउंमा मारिएका उदयबिक्रमको सफायामा पार्टीले गरेको पर्याप्त छानवीन तथा चेतावनीलाई उनले यसरी प्रस्तुत गरेका छन् कि जनयुद्ध बिरोधीले पनि त्यस्ता दु:खद घटनाप्रतिको आफ्नो दृष्टिकोणलाई पुनर्विचार गर्न कर लाग्छ । साथै आफन्त मारिदाको बदलाभाव जो कसैमा कस्तो शक्तिशाली हुन्छ भन्ने उनले आकर्षक वर्णन गरेका छन् । उपन्यासमा जेल आउंछ तर जेलब्रेकको बर्णन छुट्दैन, उपन्यासमा तत्कालीन सेना प्रहरीको ज्यादती आउंछ तर त्यसको प्रतिरोधको कथा छुट्दैन, उपन्यासमा आफन्तको हत्या वा शहादातको सन्दर्भ आउंछ तर बा आमा वा कुनै आफन्तले आन्दोलन प्रति गरेको प्रतिबद्धता छुट्दैन, मृत्यु र घाउ रगतका मुटु चिर्ने प्रसंगहरु आउंछन् तर जीवनको बिहानी सलबलाहट छुट्दैन । नयां उपन्यासकार दीपशिखाको यो सुन्दरताको तारिफ गर्नै पर्छ ।
जुनसुकै राम्रा साहित्यमा पनि राम्रा संगसंगै कमिकमजोरीहरु पनि जोडिएका हुन्छन् नै । दीपशिखा पनि यसबाट बिल्कुल मुक्त छैनन् । पहिलो, उपन्यासको नाम लामो जस्तो लाग्छ । दोस्रो, उपन्यासमा भाषिक आञ्चलिकता वा उच्चार्य भाषामा जातीय जिब्रोको प्रभाव हुनु पर्ने हो तर छैन । तामाङ, पूर्वेली वा पश्चिमेली आदि पात्रहरुले एउटै शैलीमा संवाद गर्दा जीवन्त अनुभूति हुंदैन । तेश्रो, अध्याय गठन गर्दा कम बिचार पुर्याएको देखिन्छ । अध्याय फेरिइसक्दा पनि विषय फेरिदैन । चौथो, केही शाव्दिक असावधानीका अबशेषहरु देखिन्छन् । जस्तै हाल बेपत्ता बिद्यार्थी नेता पूर्ण सुवेदी भनिएको छ । त्यसको ठाउंमा पूर्ण पौडेल भएको भए कस्तो राम्रो अपनत्व हुन्थ्यो ? कतिपय ठाउंमा युद्धको होल कमाण्ड जनाउने शव्दलाई अभिव्यक्त गर्न होल्ड कमाण्ड लेखिएको छ । पाचौं, कतै कतै बर्णन लामो र भद्दा भएको अनुभूति हुन्छ । छैटौं, याम र लोप्चनको कथा दोहोरिएको र अलि घुमेको अनुभूति हुन्छ । उपरोक्त कमजोरीहरु हटाउन भएको भए उपन्यास अझ सुन्दर हुने थियो ।
समग्रमा, युवा उपन्यासकार दीपशिखाद्वारा लिखित रात फुलेको यामलाई एक क्रान्तिकारी इतिहासको जीवन्त र कलात्मक अभिलेख मान्न सकिन्छ । यो उपन्यास प्रतीकात्मक रुपले वर्तमान युगको कुरुपता विरुद्धको विद्रोह उद्घोष पनि हो । मन वचनले आन्दोलनमा समर्पित दीपशिखाले यस औपन्यासिक कृती मार्फत नेपाली प्रगतिवादी साहित्य र जनमुक्ति आन्दोलनमा अर्को उचाइ थपेर बधाइको पात्र बनेका छन् ।
समाप्त
Comments
Post a Comment