सम्झनामा अखिल (क्रान्तिकारी)
–युवराज चौंलागाईं
आरम्भ
हरेक शनिबार झैं त्यो दिन पनि सामल पिस्न घट्ट गएको थिएं । रामेछापको गुन्सी भदौरे गाउंको पुछारबाट बग्ने चौंरी खोलाको किनारमा प्रशस्त पानी घट्टहरु हुन्थे । काभ्रे र रामेछाप जिल्लाका वरिपरिका गाउंहरुका मान्छे र बस्तु भाउका लागि आहारा पिस्न चौबिसै घण्टा, बाह्रै महिना व्यस्त हुंदा पनि घट्टेहरु फुर्सदमा हुदैनथे । हामी शनिबार बिहानै पुल्ठो बालेर होहल्ला गर्दै करिब एक घण्टा ओरालो हिंडेर गहुं, मकै लगायतका अन्न पिस्न घट्ट जाने गथ्र्यौं । चांडै जांदा पालो चांडै पाइने आशामा राती नै दौडनु पर्दथ्यो । २०४६ सालको भदौको महिना थियो । म गह्रुंगो भारी र उकालोको मारले असिन पसिन भई थाकेर पिपल चौतारीमा पल्टिएको थिएं । त्यो साल म भर्खरै कक्षा ६मा पुगेको थिएं । बर्खे बिदा भर्खरै सकिएको थियो । कक्षाको पहिलो विद्यार्थी थिएं तर पढाईका अतिरिक्त अन्य कुरामा पनि ध्यान जान थालेको थियो । कहिले कांही राजनीतिका कुराहरु पनि सुनिन्थ्यो । यस्तैमा म भन्दा दुई कक्षा सिनियर एक जना गाउंकै दाई त्यहां आइपुगे । मसंग एक छिन बस्दै उनले राजनीतिका कुरा झिके । कुरै कुरामा बिद्यार्थी संगठनबारे चर्चा भयो । बिद्यार्थीहरुको पनि अलग्गै देशै भरिको साझा संगठन हुन्छ र त्यसले सबैको दु:ख पीर मर्का हेर्नेकाम गर्छ जस्ता कुरा उनले बताए । गजब लाग्यो । उनले खल्ती मै त्यस्तो संगठनको सदस्य बन्ने रसिद पनि बोकेका रहेछन् । देखाए र त्यो लिन एक मोहोर लाग्ने बताए । मसंग पैसा त थिएन तैपनि भरे घरमा गएर आमा संग माग्छु र भोली दिन्छु भन्ने सोचेर उधारोमा दिन मिल्छ कि भनेर सोधें । उनले तत्कालै हुन्छ भनीहाले ।सेतो मोटो खाले कागजमा रातो मसीले के के पहिल्यै लेखिएको थिाये । केही थोप्ला थोप्ला भएको एउटा पत्तामा उनले लेखे – युवराज चौंलागाईं, कक्षा ६, रोल नम्बर १ । जिन्दगीमा पहिलो पटक सहि पनि गरें (हुन त त्यस अघि सहि गर्ने प्राक्टिस गर्दा कयौं पाना कापी खराब गरिसकेको थिएं तर यो पहिलो काम लाग्ने सहि थियो) । रसिद पसिनाले आधा भिजेको खल्तीमा जतनले राखें । ज्यानमा बेग्लै फुर्ती भरिएर आएको थियो ।
भोली पल्ट स्कुल गइयो । कुरै कुरामा साथी भाईलाई रसिद देखाएं । हाफ छुट्टीका बेलामा एक जना सिनियर दाइले मेरो रसिद हेर्दै भने कि त्यो त कांग्रेस पार्टी राम्रो मान्ने बिद्यार्थीहरुको मात्रै संगठन हो । मैंले हिजै सुनेको कुरा दोहोराएं कि यो त सबै बिद्यार्थीको साझा संगठन हो । त्यस पछि उनले जे भने मेरो चेत अलिक खुल्यो । बास्तबमा देशमा कम्युनिष्ट र कांग्रेसका फरक फरक बिद्यार्थी संगठनहरु हुंदा रहेछन् । सबै बिद्यार्थीको साझा संगठन त हुदो नै रहेनछ ।पंचायत काल थियो । हाम्रा एक जना ठुला बा वडाध्यक्ष र अर्का काका उपप्रधानपञ्च थिए । पंचायती व्यवस्था र राजा रानीको पक्षमा सानै भए पनि जुलुसहरुमा भाग लिइ सकेको थिएं । कहिलेकांही गाउं आउने पुलिसहरु देखेर हामी बच्चाहरु डरले त्यसैत्यसै भाउन्न हुन्थ्यौं । पंच नेतानवराज सुवेदीको विरोध गर्दा, कहिले कांही जात्रामात्रामा पुलिस रिसाउंदा गाउंका मान्छेहरु भागी भागी हिडेको, दु:ख पाएको देखेको थिएं । तै पनि खै किन हो मलाई कांग्रेसको बिद्यार्थी संगठन भने पछि त्यसमा बस्न मन लागेन । बिद्यालयमा खुलेर कोही कांग्रेस कम्युनिष्ट भएको थाहा त थिएन तर नाटक खेल्ने, विदालयमा सबै अतिरिक्त क्रियाकलाप जित्ने कोही पनि कांग्रेसमा नरहेको ती दाइको व्याख्याबाट बुझें । सायद त्यहीकारण म नेबिसंघ भइन । मैलें त्यो उधारो एक मोहोर तिरिन, कोही माग्न पनि आएन, पछि त्यो रसिद त्यत्तिकै कतै हरायो ।
प
ञ्चायतको अन्तिम अबस्था तिर हामी बिद्यार्थीहरुले पनि बिद्यालयबाट बाहिर जुलुस निकाल्यौं । केही दिनमै पञ्चायत ढलेर बहुदलीय व्यबस्था आइ हाल्यो । बहुदल आए पछि थाहा भो कम्युनिष्ट पनि दर्जनौं रहेछन् । म लागेको संगठन चैं तत्कालीन चौ म निकटको रहेछ । संगठनको नाम थियो अ.ने.रा.स्व.वि.यू. ए.रा.स.के.त.स. अर्थात एघारौं राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समिति ।
बिद्यालयमा हाम्रो संगठनको एक छत्र बर्चस्व थियो । नेविसंघ भनेर कोही बोल्न पनि सक्दैन्थ्यो । कयौं शिक्षक कांग्रेस निकट थिए र केही बिद्यार्थी जिब्रो चपाएर बिरोध गर्थे। यस एल सी परीक्षा दिने बेला सम्म म विद्यालयको एउटा चर्चित नेता बनिसकेको थिएं ।
बिद्यालयमा हामीले महिनै पिच्छे इकाइको बैठक बस्थ्यौं । लेबी उठाउंथ्यौं । हाम्रो बैठक चल्दा बिद्यालय नै बिदा हुन्थ्यो । बैठकमा ठुलो कक्षाका सबै विद्यार्थी बस्थ्यौं । इकाइ समिती त थियो तर बैठक बस्न त्यो सानो समूह छुट्टै ढोका थुनेर बस्नु पर्छ भन्ने एक त ज्ञान थिएन अर्को त्यो गर्न संभव पनि थिएन । हामी कहिले बिद्यालय सरसफाइ, कहिले अतिरिक्त क्रियाकलापहरु नियमित जसो गर्दथ्यौं । पर्दा पछाडीबाट बिद्यालयका हेडसर र अन्य सरहरुले हामीलाई कहिलेकांही सिकाउनु हुन्थ्यो । एक पटक बिद्यालयमा हेड माष्टर फेरिनु भयो । लामो समय स्कूल नआएको बहानामा हामीले वहांलाई स्कूलमा पस्नै दिएनौं । सारा बिद्यार्थीहरु विद्यालय घेरिएको पर्खालमाथि चढेर वहांको बाटो नै बन्द गरिदियौं । वहां मुल गेटमा आम विद्यार्थीहरका अगाडी धुरु धुरु रुनु भयो । ‘मलाई आउन देओ बाबु हो अब देखि नियमित कक्षा लिन्छ’ु भन्नु भयो । राजिनामा नदिई नछाड्ने अडानमा हामी टसमस भएनौं । अन्त्यमा भित्र पसेर राजिनामा दिने शर्तमा प्रबेश दियौं । भित्र भएको मिटिंगले राजिनामा दिन विद्यार्थी प्रतिनिधी सहित सदरमुकाम मन्थली जाने निर्णय गऱ्यो । म र अर्को एक जना विद्यार्थी प्रनिनिधी हेडमाष्टर, संचालक समितीको अध्यक्ष सहित सदरमुकाम मन्थली गयौं । जिशिअ संग भेट भयो । हामी कलिला २ जना विद्यार्थीको कुरा त्यहां सुनुवाई हुने कुरै थिएन ।
हामी बिद्यालयबाट नाटकहरु गथ्र्यौं । साक्षरता कार्यक्रमहरु पनि चलाउथ्यौं । बिषय शिक्षक, स्थानीय राजनीति आदि इत्यादि हाम्रो सरोकारका विषय थिए । २०५१ सालको चुनाव बहिष्कारको कार्यक्रम लिएर तत्कालीन संयुक्त जनमोर्चा नेपालका अध्यक्ष बाबुराम भट्टराई हाम्रो गाउं जानु भएको थियो । त्यहां एउटा ठूलै सभा पनि भएको थियो जहां बिद्यार्थी सगठनको तर्फबाट मैंले भाषण पनि गरेको थिएं ।
जिल्ला
बिद्यालय सकेर २०५२ सालमा म पाटन क्याम्पसमा आइ यस्सी भर्ना भएं । त्यहां म इकाई को सचिव थिएं । हामी सहयोद्धा नामको नियमित भित्ते पत्रिका निकाल्थ्यौं जसको एक समय म सम्पादक पनि थिएं । यस्तैमा जनयुद्ध शुरु भयो । हामी थोरै भए पनि पाटनमा जुझारु थियौं । २०५३ को स्ववियू चुनावमा दिपक तिवारी (हाल त्रिभुवन विश्व विद्यालयमा कर्मचारी नेता) को अध्यक्षतामा चुनाव लडियो । तपनारायण श्रेष्ठ, शोभा खनाल, आरसी शर्मा (हाल वाइसियल कावा अध्यक्ष), रेशम राजश्वराज रिमाल, राजकाजी श्रेष्ठ लगायतको टीम थियो त्यतिबेला हाम्रो । संभवत: २०५३ मा ललितपुरको पुल्चोक क्याम्पसमा भएको जिलला सम्मेलनले पवनमान श्रेष्ठ (हाल ने क पा –माओवादी नेता) ले छाडेर तपनारायण श्रेष्ठलाई संगठनको अध्यक्ष बनाएको थियो । म जिल्ला समितिको सदस्य थिएं ।
ग्रामीण भेगमा जनयुद्ध फैलदों थियो । काठामण्डौमा क्रियाशील जनवर्गीय संगठनहरु सबै खुल्ला गतिबिधी नै गरिरहेका थिए । कलेज कलेजमा संगठनहरु थिए । काभ्रे र रामेछापका पार्टी नेताहरु ललितपुरको च्यासल चोक नजिकको मेरो डेरामा बाक्लो आउजाउ गर्थे । तत्कालीन नेता आलोकको डेरा पनि त्यतै नजिकै भएको कारण पनि मेरो डेरा एउटा स्टेशन जस्तो भएको थियो । म आइ यस्सी पढ्दै एउटा थसीखेलको एउटा बोर्डिंग स्कूलमा मास्टरी गर्न थालेको थिएं । पछि कोटेश्वरको अर्को स्कूलमा पनि मैंले केही समय पढाएं । भित्र भित्र जनयुद्ध लागिरहेको थियो । यस्तैमा काभ्रे रामेछाप संयुक्त जिल्लाका तत्कालीन पार्टी सचिव कमरेड पुरन – हाल पार्टीका काभ्रे अध्यक्ष) ले काभ्रे जिल्लामा गएर अध्यक्ष भई काम गर्ने प्रस्ताव ल्याउनु भयो । २०५४ को संहारकारी किलो शेरा टू नामक प्रहरी अप्रोसनका बीचमा म काभ्रे गएं ।
काभ्रे क्याम्पसबनेपामा म बिबियस भर्ना भएं ता कि बिद्यार्थी राजनीति गर्न सजिलो होस । केही दिन कलेज पनि गइयो । केही समय पछि म काभ्रेको बिद्यार्थी जिल्लाको बैठकबाट जिल्ला अधयक्ष चुनिएं । मेरो काम दिन भरी शहरमा सुचनाहरु बुझ्ने, सेल्टर खोज्ने र राती बनेपा आसपासका बस्तीहरुमा बन्दुक बोकेका छापामारहरुसंग बस्ने हुन्थ्यो । त्यहां मैले भेटेका सबै जसो कमरेडहरु पछि शहीद हुनु भयो । यस्तैमा २०५५ मंसिर १७ गते बिहीबार राती १२ बजे बनेपाबाट मलाई गिरफ्तार गरियो । यस बीचमा हामीले गाउं गाउंमा मजबुत संगठन बनाएका थियौं । जिल्ला समितिको बैठक बस्दै गर्दा एक महिना अगाडी काभ्रे बिद्यार्थीको पुरै टिम त्यस अघि नै गिरफ्तार भइ सकेको थियो । मृत्यु भन्दा कठोर एक महिने व्यारेक (हिरासत होइन) बास सकेर हाड छाला मात्र भएको भएको शरीर लिई धुलिखेल जेल पस्दा र माया गर्ने साथीहरु भेट्दा म खुसीले रोएको थिएं । धुलिखेल र काठमाण्डौको भद्रगोल जेल गरी म करिब २ बर्ष जेल बसें । जेलमा कवि कृष्ण सेन इच्छुक, गंगा श्रेष्ठ, पवनमान श्रेष्ठ, झलक पाणी तिवारी, शहीद आशाकाजी श्रेष्ठ हिमाल, लेखनाथ न्यौपाने लगायत सयौं साथीहरु संग बसेर म परिपक्व भइ सकेको थिएं । जेलमा हामी नियमित अध्ययन र छलफल चलाउंथ्यौं, सामूहिक उत्पादनका रुपमा तानहरुमा ढाका टोपी बुन्थ्यौं, शारिरीक व्यायाम गथ्र्यौं । त्यो खासमा एउटा भट्टी थियो।
२०५७ असोजमा म जेल बाट छुटेर फेरि जनयुद्धमा लागें । यसबीच मलाई भेट्न आउने मेरो एउटै भाइ लाई पनि पक्रेर जेल हालियो । घरमा बा आमाको बिजोग थियो तर हामी दुवै भाइलाई त्यसको खासै पर्वाह थिएन । हामी प्रतिबद्धता पूर्वक जनयुद्धमा लागि रह्यौं ।
केन्द्रीय जिम्मेवारी
जेल परे पनि म काभ्रेको अध्यक्ष कायम रहेछु । फेरि हामीले संगठनात्मक काम अगाडी बढायौं । २०५८ को असोजमा भएको काभ्रे जिल्ला सम्मेलनले मलाई पुन: अध्यक्ष चुन्यो । लगत्तै हामीले संगठनको विराटनगर सम्मेलनमा भाग लियौं । सम्मेलनबाट म केन्द्रीयसचिवालय सदस्य र तत्कालीन पूर्वी पहाड क्षेत्रीय समन्वय समितिको संयोजक तोकिएं । यहांबाट मेरो बिद्यार्थी संगठनमा भूमिका बदलियो । यस अघि स्थानीय कामहरुमात्र गर्दै आएको मेरो कांधमा नयां जिम्मेवारी थपियो ।
हामीले मेहनत पूर्वक काम गर्रयौं । जनयुद्धको घनीभुत काल भएको हुनाले ती दिनहरुमा गैर फौजी र फौजी गरि दुई भागमा पार्टी कामलाई विभाजन गरिन्थ्यो । विद्यार्थी संगठनको काम गैरफौजी काम थियो जुन अन्तत फौजी सहयोग विना सम्पन्न गर्न गाह्रो थियो । हामी विद्यार्थी नेताहरु कोही पार्टीको सचिव भएर, कोही फौजी कमाण्डर कमिसार भएर खटिन्थ्यौं । म २०५८ को संकट काल पश्चाचत केही समय रामेछापको सदरमुकाम यरियाको सचिव भएर काम गरें । लगत्तै जिल्ला सैन्य हेडक्वार्टरको इञ्चार्ज र जिल्ला प्लाटूनको राजनीतिक कमिसार भएर ओखलढुंगाको रुम्जाटार मोर्चा लड्न गइयो । त्यसको लगत्तै जनमुक्ति सेनाको कम्पनी कमिसार र बटालियन कमिसार समेत भएर काम गरें । सैनिकका रुपमा सिराहाको बन्दीपुर लगायत अन्य कयौं मोर्चाहरु लडियो । २०५९ मा उपाध्यक्ष कमरेड बेनोज अधिकारीको मोरंगको खोर्साने जंगलमा हत्या भए पश्चात म केही समय विद्यार्थी मोर्चाको पूर्वी कमाण्ड इञ्चार्जको रुपमा पार्टीको निर्देशन अनुसार काम गरें । विद्यार्थीको केन्द्रीय समितिको बैठक बस्न संभव हुंदैनथ्यो र सजिलोको लागि बिधानमै उपकेन्द्र बनाइएको थियो । बास्तवमा ती उपकेन्द्र हरु पार्टी कमाण्ड कार्यालयको निर्देशन मुताविक संचालित हुन्थे । तत्कालीन पूर्वी उपकेन्द्रको इञ्चार्जका रुपमा म २०५९ मा इलाम र पांचथरको जिल्ला सम्मेलनमा पनि गएको थिएं ।
साथमा तत्कालीन मेची कोशी क्षेत्रीय समितीका संयोजक हेमराज भण्डारी पनि साथै हुनुहुन्थ्यो ।
म युद्धकालमा सैनिक भइसकेको थिएं । विद्यार्थी संगठनको कोषाध्यक्ष थिएं तर बिद्यार्थी भन्दा सैनिक जिम्मेवारी बढी थियो । एक मिनेट फुर्सद हुदैनथ्यो । यस्तैमा तत्कालीन उपाध्यक्ष महेन्द्र श्रेष्ठले तत्कालीन डिभिजन कामण्डर कमरेड अनन्त संग जोडै गरेर मलाई सेनाबाट फेरि झिकी बिद्यार्थी मोर्चामा ल्याउन बल गर्नु भयो । त्यतिबेला महासचिव हिमाल शर्मा बेपत्ता भएको हुनाले महेन्द्रजीलाई उपाध्यक्षबाट महासचिव बनाइएको थियो । म महेन्द्रको जिम्मेवारीमा र महेन्द्र जी मेरो जिम्मेवारीमा रहने गरि मिलाइएको भनिएको थियो ।
यस बीचमा हामी बिद्यार्थी केन्द्रीय सचिवालयको बैठकका लागि एक पटक दिल्ली गयौं । २०६० सालको सायद पुषको महिना थियो । दोलखामा रहेको म खबर पाउने बित्तिकै हान्निएर भोली पल्टै सिन्धुली पुगें । तत्कालीन व्यूरो एञ्चार्ज कमरेड अग्नी सापकोटा कञ्चन ले महोत्तरी हुंदै भारत पस्ने चांजोपांजो मिलाइदिनु भयो । पर्सी पल्ट पहिलो पटक रेल चढीवरी एक्लै म दिल्ली पुगिसकेको थिएं । दिल्लीको पहाडगंजबाट टाढा वदरपुर भन्ने ठाउंमा एउटा नेपालीको एक तले कच्ची घरमा हाम्रो मिटिंग स्थल थियो । त्यतिबेला लेखनाथजी उतै दिल्ली बस्नुहुन्थ्यो । सबै संग भेट भयो । एक छिनमा कान सम्म छोपेको कालो टोपी लगाएका, कपडाको पाइन्टमा सामान्य स्पोर्ट्स जुत्ता लगाएका चिने चिने जस्ता मान्छे कम्पाउण्डमा प्रबेश गरेको देखियो । उनी थिए नेपाली क्रान्तिका नायक कमरेड प्रचण्ड । उत्साह र आत्मबिश्वासका साथ बैठक दिन भर चलिरह्यो ।
अर्को एउटा बैठककालागि ३५ दिन लगातार हिंडेर हामी रोल्पाको कुरेली पुगेका थियौं । दिल्लीको सचिवालय बैठक पछिको कुरेली बैठक केन्द्रीय समितिको बैठक थियो । कुरेली बैठक राजनैतिक रुपमा घनघोर महत्वको थियो । पार्टीको बहुचर्चित चुनवांग बैठक को ठिक अगाडी २०६१ पुषमा कुरेली बैठक भएको थियो । खरीबोट बाट केही माथीको एउटा दलान नभएको गोठको माथिल्लो तलामा बैठक भएको थियो । त्यतिबेला बिद्यार्थी संगठनका फ्र्याक्सन इञ्चार्ज रवीन्द्र श्रेष्ठ थिए । बैठक भर श्रेष्ठ उपस्थित थिए भने अध्यक्ष प्रचण्ड र बाबुराम एक दिन भर रिपोर्टिंग सुन्न र आफ्ना भनाइहरु राख्न बस्नु भएको थियो । आधार क्षेत्र र पश्चिम तिरका विद्यार्थी नेताहरु पार्टीको माथिल्लो ताजा अबस्था बारे छुरा जस्ता तीखा कुरा गर्थे भने पूर्वबाट गएका हामीलाई सैद्धान्तिक बाहेक तत्कालीन अन्तर्संघर्षबारे केही पनि थाहा थिएन । बास्तबमा हाम्रो तिर फिल्डमा रहेका नेताहरुले कसै विरुद्ध कार्यकर्ता उचालेको वा समर्थन गर्ने प्रत्यक्ष आधार बनाइदिएको हामीले देखेकै थिएनांैं । हामीलाई एकातिर आधार क्षेत्र, जनयुद्धको उद्गम स्थलमा पुग्दाको गर्व थियो भने अर्का तिर पार्टीबारेको चिन्ता पनि थपिएको थियो । त्यहां हामीले केही दिन शहीद मार्गमा श्रम दान गऱ्यौं । हजारौं मान्छेका समुहले कमिलाको तांती झैं बाटो खनिरहेको बिरल दृश्य देखेर र सामेल भएर हामी फकर््यौं । आधार क्षेत्रको भेषभुषा, बुढाबुढीले पनि मुठ्ठी कसेर लाल सलाम गर्ने संस्कार, जनयुद्धका संचार पोष्टहरु, जनपरिचालनको तरिका सबै हाम्रा लागि नयां थिए ।
जनयुद्धको बिद्यार्थी आन्दोलन फरक प्रकृतीको थियो । संगठनको समग्र केन्द्रीय समितिको भेट बर्षमा एक पटक हुन पनि गाह्रो थियो । एक केन्द्रीय सदस्यले अर्कालाई चिन्दैनथे । केन्द्रीय पदाधिकारीहरु पनि व्यक्तिगत रुपले चिन्न सम्मेलन वा बैठकमा मात्र पाइन्थ्यो । कठोर सरकारी दमनका कारण शुरुका दिनहरुमा ग्रामीण भेगमा काम गर्न धेरै कठिन थियो । २०५८ को संकटकाल अगाडी शहरमा खुल्ला वा अर्ध खुल्ला गतिबिधी गर्न सकिन्थ्यो भने ग्रामीण भेगमा भूमिगत गतिबिधी गर्नु पर्दथ्यो । २०५८ मंसिर ११ गते अनेरास्ववियू –क्रान्तिकारी)लाई राज्यले आतंककारी संगठन घोषणा गऱ्यो । त्यस पछि शहरी वा सदरमुकाम क्षेत्रमा रहेका संगठनका नेता कार्यकर्ताहरु या त पूर्णकालीन भएर भुमिगत भए या भने कठोर यातनाको शिकार भए । तर, संगठनलाई आतंककारीको विल्ला लगाइए पछि ग्रामीण भेगमा पहिलाको भन्दा ठिक उल्टो प्रभाव पऱ्यो । २०५८ मंसीर पछि ग्रामीण क्षेत्रमा खुल्ला रुपले सभा सम्मेलन, जुलुश भाषण हुन थाले । बिद्यार्थी र शिक्षकहरु सैन्य फर्मेशन नै बनाएर पार्टीमा प्रबेश गर्न थाले । २०५८ देखि २०६२ सम्मको अबधीमा नेपालको बिद्यार्थी आन्दोलनको केन्द्र शहर र ठुला विश्व विद्यालयको प्रांगणबाट सुदूर गाउं र धुले विद्यालयहरुमा सर्न पुग्यो । यो नेपाली बिद्यार्थी आन्दोलनमा जनयुद्धको सबभन्दा सशक्त प्रभाव थियो । यसबारे व्यापक खोज अनुसन्धान हुनु जरुरी छ ।
जनयुद्धका बेलामा विद्यार्थी आन्दोलन शैक्षिक रुपले केही खास एजेण्डाहरुमा संकेन्द्रीत हुन पुगेको थियो, यद्यपि बहसमा अन्य कयौं विषयहरु नभएका होइनन् । ती थिए १) शिक्षामा नीजिकरण बिरोधी आन्दोलन। यो यति शसक्त थियो कि कयौं जिल्लाहरु निजी बिद्यालय मुक्त जिल्ला घोषित भए । राजनैतिक नेता र सरकारी अधिकारीहरुलाई सार्वजनिक बिद्यालयमै आफ्ना सन्तान पढाउन जनदबाब व्यापक रुपले बढ्यो ।यो अभियान शिक्षामा साम्राज्यवाद र शैक्षिक राष्टियताको सिद्धान्त संग जोडियो र व्यापक लोकप्रिय पनि भयो।२) शिक्षामा सामन्तवाद विरोधी आन्दोलन । हामीले बिभिन्न कक्षाका पाठ्य पुस्तकहरु अध्ययन गरी कुन कुन कुराले सामन्तवादलाई पक्ष पोषण गर्छ भनी एउटा लामो सुची बनाएर विद्यालयहरुमा तिरण गरेका थियौं । त्यसबारेमा शिक्षकहरुसंग छलफल गरेका थियौं र कोर्षबाट हटोन लगाएका थियौं । तिनताका कक्षा ६ र ७मा संस्कृत विषयलाई अनिवार्य बिषयका रुपमा पढाइन्थ्यो । हामीले उक्त विषय ऐच्छिक बनाइनु पर्ने माग गऱ्यौं । तर, राज्यले आनाकानी गरे पछि देश व्यापी रुपमै उक्त विषयका प्रश्न पत्रहरु जफत गरेर, कक्षामा अनिवार्य विषयका रुपमा पढाउन नदिएर हामीले यस्तो वाताबरण सिर्जना गऱ्यौं कि राज्यले बाध्य भएर विषय नै पाठ्यक्राबाट हटायो । त्यस्तै शिक्षामा सामन्तबाद बिरोधी अभियानकै रुपमा हामीले तत्कालीन राष्टिय गान ‘श्रीमान गंभीर नेपाली.....’ लाई बिद्यालयहरुबाट जबर्जस्त बिस्थापित गरायौं । राजाका फोटोहरु पाठ्यपुस्तक र कक्षा कोठाहरुबाट अभियान कै रुपमा हटाइए । यो आन्दोलन व्यापक लोक प्रिय र सफल पनि रह्यो । ३) विश्वविद्यालयमा भौतिक उपस्थिती नरहे पनि हामीले सचेत हस्तक्षेपको नीति लिइरह्यौं । खास गरि त्रिभुवन बिश्वविद्यालयको स्ववियू निर्वाचनमा एउटा संगठनलाई आस्थाकै आधारमा प्रतिबन्ध लगाएर बांकीका बिचमा गराउन मिल्दैन भन्ने हाम्रो जोडदार तर्क रह्यो । यही कारणले त्रिबिले अनेकौं पटक सार्दै र बिभिन्न चरण गर्दै एक पटक स्ववियू चुनाव न्यून विद्यार्थीहरुको उपस्थितीमा गरायो । ४) भूमिगत भए पनि हामीले निरन्तर विद्याथीृकै विचमा रहेर कामहर गऱ्यौं । केही दिन एउटा एकाइको काममा व्यस्त भएर नेताहरु छुट्नु पर्दा सारा हल नै भावुक भएर रुन्थ्यो । आगमन र विदाईमा विशेष खाले स्वस्फूर्त समारोहहरु आयोजना हुन्थे । बास्तबमा अखिल क्रान्तिकारी ग्रामीण विद्यार्थीहरुको दिलमा बसेको थियो जुन आजको आंखा बाट हेर्दा कल्पना जस्तो मात्र लाग्छ । संगठनको तर्फबाट बेला बेलामा आम शैक्षिक हड्ताल वा विरोध कार्यक्रमहरु सार्वजनिक गरिन्थे जुन व्यापक रुपले सफल हुन्थे । केहीले त्यसबेलामा भएका केही बल प्रयोगका घटनाको आलोचना वनि गरेका छन् । अहिले आन्दोलनकै नेता रहेका केहीको उती बेलाको बक्तव्यहरु हेर्दा पनि त्यो देखिन्छ । तर, केही अपवाद बाहेक ती सबै बल प्रयोगहरु ऐतिासिक रुपले आबश्यक र जायज थिए । तिनले नेपालको राजनैतिक र शैक्षिक आन्दोलनमा नराम्रो केही असर पुऱ्याएको छैन । ५) क्रान्तिकारी जनसत्ताले पश्चिम नेपालमा केही मोडेल स्कूलहरु संचालन गरेको थियो । ती बिद्यालयहरुलाई बिकसित हुन मद्दत गर्नु पनि तत्कालीन बिद्यार्थी मोर्चाले आफ्नो काम ठानेको थियो ।
नेतृत्व प्रणाली
अखिल क्रान्तिकारीमा जनयुद्ध काल भरी आधारभूत रुपमा जुझारु र प्रतिबद्ध टीमले नै नेतृत्व गऱ्यो । म केन्द्रीय समितिमा आउंदा देवेन्द्र पराजुली अध्यक्ष हुनुहुन्थ्यो । पछि लेखनाथजी आउनु भयो । तर, कहिल्यै नेतृत्वबारे सहकर्मी साथीहरुका बीचमा अस्वस्थ प्रतिस्पर्धा चलेन । बैठकहरुमा हुने व्यापक बहस र कामका नतिजाले नेतृत्वको स्वत: कार्यक्षमता प्रदर्शन गर्ने हुनाले पनि त्यो अबस्था आएन । अध्यक्षले विद्यार्थी फ्र्याक्सन इञ्चार्ज संग सल्लाह गरेर बनाएको योजनालाई कार्यालय टीमले आबश्यक थपघट गर्ने, पुर्णता दिने काम गरेर सहयोग गथ्र्याे । शुरुका दिनहरु एकदमै कष्टकर भए पनि गतिशील र परिणममुखी थिए ।
२०६३ सालमा खुल्ला राजनीतिमा आए पछि भने केही परिवर्तन आउन थाल्यो । बास्तबमा तत्कालीन विद्यार्थी अध्यक्ष दिल्लाीको लामो बसाइ पछि नै पार्टी र नेतृत्व प्रति विकर्षित भइ आउनु भएको रहेछ । तत्कालीन फ््याक्सन इञ्चार्ज रवीन्द्र श्रेष्ठ बाट अति नै प्रभावित पनि हुनु भएको रहेछ जो आफ्ना पार्टी पदाधिकारी हुने महत्वाकांक्षाका कारण विग्रदै गइरहेका थिए । २०६२ को फागुन तिर उनले पार्टी छाडेको घोषणा गरे । तत्कालै सिन्धुपाल्चोकको जलवीरे माथिको हगाम भन्ने गाउंमा हाम्रो संगठनको केन्द्रीय कार्यालयको बैठक बस्यो । उक्त बैठकमा फ्र्याक्सन इञ्चार्जको रुपमा कमरेड अनन्त पनि उपस्थित हुनुहुन्थ्यो । पहिलो पटक त्यो बैठकमा तत्कालीन अध्यक्षको कठोर आलोचना भयो । खास गरी रामदीप आचार्यजी चर्को आलोचक भएर देखा पर्नु भयो । हामीहरु पनि वहांका राजनैतिकचिन्तन र अभिव्यक्तिका आलोचक थियोैं।
त्यो बैठकले संगठनको तर्फबाट मलाई काठमाण्डौ गएर जनआन्दोलन २ मा भाग लिन निर्देशन गऱ्यो । त्यस अगाडी नै के.स.अनिल शर्मा, के.स.राजु आले, दिनेश शर्मा र राजु राई संगठनको योजनामा काठमाण्डौ आएर आन्दोलनमा सहभागी भइरहनु भएको थियो । चैत्रको अन्तिम तिर म दोलालघाटको बाटो हिंडेर नगरकोट निस्किएं र हिडेरै मुलपानी हुदैं जोरपाटी आएं । काठमाण्डौ आन्दोलनको लपेटामा थियो । पुरै शहर युद्ध मोर्चा जस्तै थियो । कांडेतार लगाएर सडक सडकमा शाही सेना तैनाथ थियो । रुखहरु ढालेर सिंगो रिंगरोड हिंडनै अप्ठ्यारो थियो । म आन्दोलनमा सहभागी भएं । २०६३ बैशाख १० गते दिउंसो काठमाण्डौको खुल्ला मञ्चमा पहिलोपटक प्रतिबन्धित माओवादी बक्ताले सार्वजनिक भाषण गऱ्यो । त्यो बक्ता म थिएं ।
आन्दोलन सकिए पछि मुख्य नेताहरु काठमाण्डौ जम्मा भयौं । काठमाण्डौमा संगठनको नाममा हामी संग केही पनि थिएन । केही पार्टी कार्यकर्ताका आफन्त विद्यार्थीहरुको नाम लिष्ट बाहेक । हामीले जेठमा कलंकीको यलआरआइ स्कूलको सानो कोठामा सानो भेला राख्यौं । सबै गरि करिब १० जना जति उपस्थित त्यो भेला नै काठमाण्डौमा संगठन निर्माणको आधार विन्दू थियो ।
हाम्रा सिमीत तर जुझारु साथीहरु संगठन निर्माणका लागि स्कूल कलेज जान थाले । तर त्यहां हामीलाई सोचे जस्तो सजिलो थिएन । गाउंमा चुं नबोल्ने कांग्रेस संग बानी परेर आएका हामीले यहां मुड्की उठाएर लखेट्न आउने ने वि संग र एमाले अखिलको सामना गर्नु पर्ने थियो । तर डराउनु पर्ने केही थिएन । हामी लड्न पनि तयार थियौं । हामीलाई कार्यक्रम गर्न र बिद्यार्थी संग सम्पर्क गर्नबाट जहां जहां अबरोध भयो त्यहां हामी प्रतिरोध गर्न थाल्यौं । पव्लिक युथ, पद्म कन्या, रत्न राज्य, सरस्वती , थापाथली, अस्कल, सानो ठिमी जस्ता चर्चित कलेजहरुमा ठूल्ठूला झडपहरु भए । पिके को झडपलाई त कांग्रेसले महाधिबेशनमै लगेर प्रदर्शन समेत गऱ्यो । अहिले पनि जब दाह्री काट्ने बेला हुन्छ, म पव्लिक युथको त्यो घटना सम्झन्छु किनकी चिउंडो मुनी नेबिसंघको तत्कालीन क्याम्पस सभापतिले ढुंगाले हानेको घाउको खतले त्यो दिन संझाइ दिन्छ ।
काठकाण्डौमा काम गर्ने जनशक्ति नपुग हुंदै गए पछि हामीले कमल शाही, नरेन्द्र न्यौपाने, पूर्ण सिंह, रंजित तामांग आदि लाई जिल्ला बाट काठकाण्डौ स्थानान्तरण गऱ्यौं ।
यसबीच केही समय काठमाण्डौ काम गरेर जम्दै गए पछि काठमाण्डौ बारे संगठनको कार्यालयमा विवादहरु देखिन थाले । पदाधिकारीहरुलाई नै काठमाण्डौ प्रति उग्र लगाव बढिरहेको देखिन थाल्यो । यस्तैमा सोह्रखुट्टेको होटल गार्डेनमा संगठनको बैठक बस्यो । मैंले संगठनमा केही नीतिगत र कार्यक्रमिक परिवर्तनबारे राखेको केही विषयहरुलाई तत्कालीन नेतृत्वले सहज रुपमा लिएन । विवाद भयो । पार्टी अध्यक्ष र अनन्त कामरेडहरुले पटक पटक मिलाउन खोज्नु भयो । अन्तत: काठमाण्डौबाट पूर्वको जिम्मेवारीमा मलाई विराटनगर पठाउने निर्णय भयो । म २ बर्ष बिराटनगर बसें । पूर्वका प्राय सबै जिल्लाहरुमा पुगें । नेविसंघले एकछत्र बर्चस्व कायम गरेको महेन्द्र मोरंग क्याम्पस अनेकौं भीडन्त र समीकरण पश्चात हामीले जितेरै छाड्यौं । पूर्वमा मैंले पार्टी र ंगठनका साथीहरुबाट अपार स्नेह पाएं । यसबारे विस्तृत चर्चा यहां संभव छैन ।
पछिल्लो चरण पार्टी भित्र विवाद देखा परिकेको थियो । लेखनाथजी खुलेरै एउटा कित्तामा लागिसक्नु भएको थियो भने म खुलेर अर्को कित्तामा । रामदीपजी कहिले यता कहिले उता गर्दै हुनुहुन्थ्यो । हिमालजीको देखिने गरि प्रष्ट भूमिका थिएन । बास्तवमा हामीलाई निकट भविष्यको सम्मेलन लागेको थियो । फ््याक्सन इञ्चार्ज कमरेड विप्लव कुनै हालतमा मलाई अध्यक्ष बन्न दिने मुडमा हुनुहुन्नथयो । अध्यक्ष लगायत त्यो पक्षको सिंगो टीम मलाई रोक्न चाहन्थ्यो । तर, अर्को पात्रको अभावमा वहांहरु बोल्ने ठाउं पनि थिएन । तीन जना दावेदार म, रामदीप र हिमाल सबै जना अन्तिममा एकै ठाउंमा उभिएका थियौं पार्टी अन्तरसंघर्षमा । यस्तोमा संस्थापनको कुरा हो तपाईहरु ३ जना मिल्नोस र एक जना हुनुस भन्न थाल्नु भयो लेखनाथ जी । यो बास्तवमा बेइमान कुरा थियो । वहांले कहिं कतै संगठनको हितको लागि यो उपयुक्त हुन सक्छ भनेर भन्नु भएन । त्यो तीब्र गुटगत मानसिकताको उपज थियो । बरु अन्तिम दिनहरुमा वहां आफैं फेरि तेश्रो पटक अध्यक्ष बन्न कस्सिनु भयो र सोही अनुरुप नयां बजारको प्रचण्ड निवासमा भएको पार्टी पदाधिकारी सहितको छलफलले लेखनाथजीलाई नै पुन अध्यक्ष बनाउने निर्णय सुनायो । त्यो कसैले मान्ने अबस्था थिएन । सम्मेलन नजिक थियो । बिधान प्रतिबेदन केही तयार भएको थिएन । बडो नमज्जा भइरहको थियो । यस्तैमा हामीले एकपटक पहल लिन केही नेताहरुलाई आग्रह गऱ्यौं । फलत: विशाल नगर छेउमा रहेको कमरेड शीतलकुमारको कोठामा पार्टीका केही सिनियर नेताहरु सहितहामी तीनै जना अध्यक्षका दावेदार बैठक बस्यौं । समाधान खोजी हुंदैथियो । शीतल कुमारले प्रस्ताव राख्नु भयो ‘रामदीप र युवराज पार्टीको जिम्मामा जानुस, अहिले हिमाल जीलाई दिएर मिलाऔं’ । रामदीपजीले ‘हुन्छ’ भनिहाल्नु भयो ।मैंले पनि हुन्छ भन्नै पऱ्यो । यसरी हाम्रो निर्णय पार्टर्ीमा पुग्यो । यो निर्णय सुनेर विप्लव र लेखनाथजीहरु सायद छक्क पर्नु भयो । सायद वहांहरुले सोचेको यस्तो थिएन ।
२०६८ संसिर २४ गते १८ औं राष्टिय सम्मेलन किर्तिपुरमा उद्घाटन भयो । रामदीप र म संगै थियौं । भीडबाट टाढा गएर कुरा गर्दै थियौं रामदीपजी पिलपिल गरेर रुन थाल्नु भयो । भावनामा म पनि रोएं । हेर्दा हेर्दै हजारौं हण्डर ठक्कर खाएर बनेको आफ्नै जीवनको एउटा अध्याय आजै समाप्त हुदै थियो ।
मैंले अनेरास्ववियू –क्रान्तिकारी)का ५ वटा राष्टिय सम्मेलनहरुमा भाग लिएं । ती मध्ये २०५३मा किर्तीपुरमा भएको १४ औं राष्टिय सम्मेलन बाहेक अन्य (२०५८को १५औं विराटनगर सम्मेलन, २०६०को १६औं काठमाण्डौंको प्रज्ञा भवन सम्मेलन, २०६४को १७औं काठमाण्डौ खुल्ला मंच सम्मेलन र २०६७को १८औं किर्तिपुर सम्मेलन) मा आयोजक र नेताको भुमिका निभाइयो । समग्रमा विद्यार्थी संगठन नराम्रो बाट राम्रो हुदैं अस्तव्यस्तता तिर गइरहेको मलाई अनुभूती हुन्छ । यसबारे अन्यत्र चर्चा गर्नु सान्दर्भिक होला ।
बिद्यार्थी राजनीतिमा लाग्दा संगालेका अनगिन्ती अनुभवहरु छन् जसको बिस्तृत चर्चा यहां सम्भव छैन । करिब २१ बर्ष मैंले अखिल क्रान्तिकारीमा निरन्तर काम गरें । यो संगठनले पहिचान दियो, इज्जत दियो, सबभन्दा ठूलो कुरा सहि दृष्टिकोण दियो । गौरव छ कि हजारौं त्यस्ता साथीहरुसंग यहि माध्यमले संगत भयो जो सांच्चै यस दुनियाका महान मान्छेहरु थिए ।यहां फूट र एकताहरु बेहोरियो । दु:ख पनि धेरै नै पाइयो । खास गरि मेरो प्रिय भाइ, अखिल क्रान्तिकारीको तत्कालीन रामेछाप जिल्ला सचिव विष्णु चौंलागाईंको शहादातको खबरले मलाई आज सम्म पनि रुवाइ नै रहेको छ । यस आन्दोलनमा जेल बस्दा, परिवारको विचल्ली हुंदा जति पीडा भोगियो त्यो संग तुलना गर्नै नसक्ने पीडा भाइको शहादात (२०६० असार ३२) ले दिइरहेको छ । आज म राजनीतिको अलग भूमिकामा छु तर मलाई सदैव मेरो विद्यार्थी संगठन प्रति लगाव छ । साथीहरुले संझदा खुसी लाग्छ, नसंझदा दु:ख । सायद विबाह गरेर पराइ घर गएकी छोरीका लागि माइतीको जस्तै हामी पूर्व भनिने पुराना विद्यार्थी कार्यकर्ताहरुलाई पनि अनेरास्ववियू (क्रान्तिकारी) को हार्दिक माया रहिरहने छ ।
छव्वीस बर्ष अगाडी एउटा दुर्गम गाउमा पछौटे पन संग संघर्ष गरिरहेको मलाई आज नाम र स्वतन्त्र चिन्तन क्षमता दिने प्यारो अखिल नीति र नेतृत्वको सफलता सहित उचाइमा लम्कियोस, कुन कस्तो हो भनेर अल्मलिंदै संगठन छनौट गर्दा विद्यार्थीहरु दुविधामा नपरुन, शुभकामना ।।
२९ भाद्र २०७२, काठमाण्डौ ।
Comments
Post a Comment