२०७० साउनको माओवादी केन्द्रीय समिती बैठकका निर्णयबारे
–युवराज चौंलागाईं विचारधारात्मक रुपमा एकीकृत ने.क.पा. (माओवादी) अब पुरानो चिन्तन र ढर्राको कम्युनिष्ट पार्टी रहेन । हेटौंडामा सम्पन्न सातौं महाधिबेशनबाट यस पार्टीले बिचार र राजनीतिक क्षेत्रको स्थापनाकालीन मान्यतालाई थप बिकसित र परिमार्जित गरेको छ । अर्थात, पुरानो कार्यदिशालाई परिमार्जित गरि नयां कार्यदिशालाई औपचारिक रुपले स्थापित गरेको छ । २००६सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुंदा कमरेड पुष्पलालले अगाडी सारेको किसान समुदायमा आधारित नयां जनवादी क्रान्तिको मान्यता अब पछि परिसकेको छ । नेपाली जनताको बलमा सञ्चालित जनयुद्ध र पटक–पटकका जनआन्दोलनहरुले नेपालमा सामन्तवादलाई मूलत: परास्त गरिसकेका छन् । तर, यसले पूर्ण पूंजीवादी स्वरुप पनि ग्रहण गर्न सकेको छैन । यसले बैदेशिक हस्तक्षेपबाट मुक्ति प्राप्त गर्न पनि सकेको छैन । तसर्थ, नेपाली समाजको आजको आधारभूत चरित्र अर्ध सामान्ती र अर्ध औपनिबेशिक नरहेर दलाल तथा नोकरशाही पूंजीवादी र नव औपनिबेशिक रहेको छ । समाजको आधारभूत चरित्रमा परिवर्तन आइसकेको हुनाले अब नेपाली क्रान्ति...