माओ जेदुङ्गका अमर विचारहरुलाई आत्मसात गरौं !


                                                                                                                          –सि जिन पिङ्ग
माओ जेदुङ्गका अमर विचारहरुले अडान, दृष्टिकोण र प्रणाली निश्चित गर्नमा जोड गर्दछन्; जसका तिनवटा आधारभूत सिद्धान्तहरु छन् : तथ्यबाट सत्यको अन्वेषण, जनदिशा र स्वतन्त्रता। नया परिवेशमा हामीले माओका अमर विचारहरुको सारतत्वलाई पार्टी निर्माण र चिनिया विशेषता सहितको समाजवाद विकासको महान काममा दृढ समर्थनका साथ लागू गर्नुपर्दछ ।
 
माक्र्सवादको मौलिक सिद्धान्तको रुपमा तथ्यबाट सत्यको खोजी नै चिनिया कम्युनिष्टहरूलाई चाहिएको संसारलाई बुझ्न र परिवर्तन गर्नका लागि आधारभूत आवश्यकता हो । यो हाम्रो पार्टीको आधारभूत सोच,कार्य पद्धती तथा नेतृत्व प्रणाली समेत हो। हामीले हरेक कार्यमा वास्तविकताबाट अघि बढ्ने, बिचारलाई व्यबहारसंग मिलाउने तथा व्यबहारबाटै सत्यको परिक्षण एवं विकास गर्ने सिद्धान्तको समर्थन गर्ने गरेका छौं र त्यसलाई अझ उच्च पार्नु पर्दछ।
 
माओ जेदुङ्गले एक पटक भन्नु भएको थियो, “‘तथ्य’हरू ती सबै कुराहरू हुन्, जसको वस्तुगत अस्तित्व छ, ‘सत्य’ भनेको तिनीहरूको आन्तरिक सम्बन्ध हो     (जस्तो कि तिनीहरुको संचालनको नियम) र ‘अन्वेषण’ भनेको अध्ययन गर्नुहो।”(१) वहांले रुपकको पनि प्रयोग गर्नु भएको थियो ‘निसानातिर वाण हान्नु’। भन्नुको मतलव हो माक्र्सवादको ‘अस्त्र’ चिनीया क्रान्ति, आधुनिकता र सुधारको ‘निशाना’मा हान्नु पर्छ ।
 
तथ्यबाट सत्य पत्ता लगाउनका लागि हामीले बस्तुबारे जस्ताको तस्तै समझदारी बनाउन, बस्तुको सतहबाट चुरो तर्फ हेर्न एवं अलग बस्तु र घटना बीच बिद्यमान पेचिलो सम्बन्ध पत्ता लगाउन आबश्यक छ।
 
 
हामीले पदार्थको अस्तित्व तथा यसको विकासको नियमलाई स्विकार गरेपछि यसका वस्तुगत नियमहरूलाई पछ्याउनै पर्दछ। तथ्यबाट सत्यको खोजी गर्ने सिद्धान्तको अनुसरण एकै पटकबाट सदाका लागि ९यलअभ बलम ायच बिि० हुन सक्दैन। निश्चित समय र स्थानमा यसको पालनाले सफलता पाउन सकिन्छ तर यसो भनेर फेरी पनि अर्को ठाउ र अर्को समयमा पनि सफलता प्राप्त हुन्छ भन्ने हुदैन । एक ठाउं र समयमा अध्ययन वा अनुभवबाट प्राप्त गरेको कुरा अर्को ठाउं र अर्को समय/परिवेशमा जस्ताको तस्तै अनिवार्य रुपमा लागु हुन्छ भन्ने होइन । हामीले विवेकपूर्ण र सद्विचारका साथ दृढ विश्वास गरी सत्यबाट वास्तविकताको खोजीमा लाग्नै पर्छ र यसको प्रयोगको क्षमता पनि वृद्धि गर्नैपर्छ । हामीले जहिले पनि यो कुरा दिमागमा राखी आफ्नो काममा प्रयोग पनि गर्नुपर्छ ।
 
आज हामी जुन परिवेशमा छौ, ‘तथ्यबाट वास्तविकताको खोजी’ भन्नुको मतलब हामी सबैले हाम्रो राष्ट्रिय परिवेश प्रष्ट रुपमा बुझ्नुपर्छ कि हाम्रो देश हालसम्म पनि समाजवादको प्रारम्भिक अवस्थामा छ र अब आउने धेरै सयमसम्म पनि यस्तै रहनेछ । जब हामी सुधार र विकासको उन्नतीतिर लाग्छौ, निति र मार्ग दर्शन निर्माण गर्छौ, हामीले हरेक कुरा राष्ट्रको आधारभूत अवस्था अनुरुप गर्नु पर्दछ। बस्तुगत परिस्थिती र समयलाई ख्याल नगरी त्यसको विपरित शीघ्र सफलता हात पार्न खोज्ने प्रवृत्तिलाई छोड्नैपर्छ। अनि, कुनै पुराना र अनाहकको आत्मसन्तुष्टि दिने विचार एवं काम जसले वास्तविकतालाई स्वीकार गर्दैन वा वास्तविकतामा आएको आधारभुत परिवर्तनलाई मान्दैन, अपवाद विना नै सुधार गर्नैपर्छ ।
 
 
तथ्यबाट सत्यको खोजी गरिरदा हामीले जहिले पनि जनभावनाको कदर गर्दै सत्यको समर्थन र भुलको सुधार गर्नैपर्ने हुन्छ । हामीले जहिले पनि खुलस्त, निस्वार्थी र निडर भई साहसका साथ तथ्यमा आधारित वास्तविक कुरा बोल्नैपर्छ । निर्णय तथा कार्यान्वयन प्रकृयामा भएको भुल र वैचारिक विचलनलाई देखिने वित्तिकै सुधार गर्नुपर्छ। सबै प्रकारका द्वन्द्व र समस्याहरु आउंदा हाम्रा क्रियाकलाप र विचारहरू वस्तुगत नियमहरूले स्वीकार गर्ने तरिकाले समयको आवश्यकता र जनताको चाहना अनुरुप पत्ता लगाई समाधान गर्नुपर्छ ।
 

 तथ्यको आधारमा वास्तविकताको खोजी गर्दा हामीले व्यबहारमा आधारित सैद्धान्तिक आविस्कारलाई प्रोत्साहन गर्नुपर्छ। माक्र्सवादका आधारभूत सिद्धान्तहरू अनन्त वैचारिक मुल्यका साथ शास्वत हुन् । तथापी पुराना माक्र्सवादी लेखकहरूले पनि वास्तविकतालाई दुर्वल तुल्याएनन् बरु वास्तविकताको बाटो खोजी गर्ने र विकास गर्ने काम गरे । आज जब हामी चिनिया विशेषतासहितको समाजवादमा संकल्परत् हुन्छौ र विकास गर्छौ, अझ गहिराई सम्म सुधारलाई बढवा दिन्छौ, हाम्रो अगाडि रहेका अनुमान गर्न सकिने र नसकिने अप्ठ्याराहरू र जोखिमहरूलाई प्रभावकारी तरिकाले व्यबस्थापन गर्दैनांै भने नया समस्याहरू देखापर्न सक्छन् । यी सबै बिषयहरू नयाा र उपयुक्त सैद्धान्तिक समाधानको खोजीमा छन् । हामीले पार्टीको नेतृत्वमा जनताले प्राप्त गरेको ताजा अनुभवको पुन:अध्ययन गर्नैपर्छ, चिनिया अवस्थाअनुसारको माक्र्सवादलाइ निरन्तर अवलम्बन गर्नु पर्दछ र समकालीन माक्र्सवादलाई चीनमा  अझ चम्किलो  बनाउनु पर्दछ ।
 

 जनदिशा पार्टीको जीवन रेखा र आधारभूत कार्यमूक सिद्धान्त हो । यो हाम्रो यस्तो पोषित परम्परा हो जसले हाम्रो पार्टीलाई जिवन्त र जुझारु कार्य क्षमतायुक्त  बनाइराखेको छ। हामी जनताको चाहनामा हरेक कुरा गर्न बाध्य थियौं, हुनेछौ र जनताको शक्तिमा निर्भर रहने छौ। ‘जनताबाट, जनताका लागि’ भन्ने सिद्धान्त अनुशरण गर्न, जनताको सचेत कर्ममा पार्टीका नीतिहरु अनुवाद गर्न तथा जनमतलाई सरकारका क्रियाकलापमा समेत लागू गर्न हामी प्रतिबद्ध छौं।
 

जनदिशाले सारतत्वमा जनता नै इतिहासका निर्माता हुन् भन्ने माक्र्सवादको आधारभूत सिद्धान्तलाई  मूर्तिकृत गर्दछ । हामीले इतिहासको प्रगतिशिल रुपान्तरण वा सञ्चालनको आधारभूत नियमहरू बुझ्नका लागि पनि यो सिद्धान्तमा प्रतिबद्ध हुनै पर्छ । हामीले यी नियमहरु मान्नै पर्छ ता कि हामी अपराजय होऔं । इतिहासले पटक पटक प्रमाणित गरिदिएको छ की जनता नै सामाजिक गतिशीलता र ऐतिहासिक विकासकालागि महत्वपूर्ण शक्ति हुन् । एक पटक माओले भन्नु भएको थियो, ‘एकपटक फेरि चीनको भाग्य जनताको हातमा छ, पूर्वमा जसरी सूर्य उदाउाछ, त्यसैगरी चीनले पनि जमिनको हरेक कुनालाई तेजस्वी ज्वालाका साथ उज्यालो पार्नेछ ।”२
 जनदिशा लागु गर्नु भनेको हाम्रो भविष्य र भाग्य निर्माणको आधारभुत शक्तिको  रुपमा जनतालाई चिन्नु हो । पार्टीलाई अपराजित राखिराख्ने बलियो आधार देशमा जनतालाई मुख्य स्थान दिनु र जनताको पहल वा शक्तिलाई पूर्ण रुपमा प्रयोगमा ल्याउनुमा अडेको छ । जनताको अगाडि हामी जहिले पनि सिकारु हौं। त्यसैले हामीले जनतासाग सल्लाह लिइ राख्नुपर्छ। हामीले पूर्ण रुपमा उनीहरूको चाहना, अनुभव, अधिकार र भूमिकाको सम्मान गर्नुपर्छ । हामीले जहिले पनि जनताले प्रदान गरेको शक्तिलाई दिलमा राख्नैपर्छ र यसको विवेकीय हिसाबले प्रयोग गर्ने र जनताको निगरानीको स्वागत गर्ने गर्नुपर्छ । ऐतिहासिक उपलब्धीहरु हासिल गर्न र पार्टीको ठोस आधारलाई फलामे किल्ला बनाउन जनतासंग निकटबाट निर्भर हुनैपर्छ ।
 

जनदिशा अबलम्बन गर्नुको अर्थ जनताको सेवामा मनैदेखि समर्पित हुने आधारभूत (माक्र्सवादी) सिद्धान्तको अबलम्बन गर्नु हो ।  ‘कुनै पनि आदेश यदी जनताको अभिलाशामा आधारित छन् भने मान्नु पर्न सक्छ तर यदि तिनीहरू जनताको अभिलाशा विपरित छन् भन्ने अप्रभावकारी पनि हुन सक्छन्।’(३) मनैदेखि जनताको सेवामा समर्पित हुनु नै पार्टीको सबै कामको आधारभूत उद्देश्य र उपलब्धी हो। यो नै हाम्रो पार्टीलाई अरु पार्टीहरूबाट फरक देखाउने संकेत पनि हो । पार्टीका हरेक कामहरूको मुल्याङ्कन गर्ने सर्वोच्च आधार नै बहुसंख्यक जनताको चाहनाको कदर हो। हाम्रो पार्टीको कामको प्रभावकारीताको मापन भन्नु नै जनताले पाएको वास्तविक लाभको मापन हो, यो तिनीहरूको जीवनमा सुधार हो, कति र कसरी तिनीहरूका चाहना र अधिकारको संरक्षण गरिएको छ भनी हेर्नु हो । उनीहरूको समृद्ध जीवनको अपेक्षाले हामीलाई निस्क्रिय वस्न र सन्तुष्ट भएर रहन दिदैन, बरु कडा मेहनत मार्फत हामी हरेकले विकासको फल राम्रोसग अझ बढी बाढ्न र सबैको समृद्धितर्फ स्थिर रुपमा अघि बढ्न प्रेरित गर्छ ।
 
 
जनदिशा लागु गर्नु भनेको पार्टी र जनताको बीचमा निकटतम सम्बन्ध कायम राखिराख्नु हो । हाम्रो पार्टीको सर्वोच्च राजनीतिक उपलव्धी भनेको नै जनतासंगको सुमधुर सम्बन्ध हो । त्यस्तै, शासन गरिरहेको पार्टीका लागि सबैभन्दा ठूलो खतरा भनेको जनतासंग सम्बन्ध बिच्छेद हुनु हो । माओ जेदुङ्गले भन्नु भएको छ, ‘हामी कम्युनिष्टहरू बिऊ हौ र जनता भनेका माटो जस्तै हुन् । हामी जहां जान्छौ, जनतासंग मिल्नु पर्छ, तिनीहरूमा जरा गाड्नु पर्छ र फूल्नु पर्छ।’(४) पार्टीका हरेक सदस्यले जनताको विचारलाई दिमागमा पहिले राख्नैपर्छ र त्यसलाई अभ्यासमा लैजानुपर्छ । हामीले पार्टीभित्र रहेका समस्या समाधान र पार्टीसंग असन्तुष्ट जनताहरुतर्फ अधिकतम ध्यान दिनैपर्छ, जसले गर्दा हाम्रो पार्टीलाई उनीहरूको सदैव विश्वास र मद्दत मिलि रहोस् ।
 
जनदिशा लागू गर्नु भनेको हाम्रो कामको मुल्याङ्कन जनतालाई गर्न लगाउनु हो । ‘आदेश ठिक वा बेठिक के छ भन्ने जनतालाई नै थाहा हुन्छ ।’(५)  जनताले यो आदेशलाई कति लोकप्रियताका साथ सहयोग गरे भन्ने आधारमा एउटा पार्टीको भाग्य र भविष्य निर्धारण हुन्छ । लोकप्रिय सहयोग जसबाट हामी हाम्रो शक्ति  पत्ता लगाउन सक्छांै । जनताको तुलनामा पार्टीका सदस्यको संख्या सदैव न्युन हुन्छ । हाम्रो महान् लक्ष्य लोकप्रिय सहयोग विना कहिल्यै पनि प्राप्त गर्न सकिदैन । हाम्रो पार्टीको शासकीय दक्षता र कार्य सम्पादन क्षमताको मुल्याङ्कन हामी आफैले गर्ने होइन, त्यसको सर्वोच्च र शास्वत मूल्याङ्कनकर्ता जनता हुन, उनीहरुले मात्र पार्टी कामको मूल्यांकन गर्न सक्दछन् र गर्नु पर्दछ।  हामी आडम्बरी भयांै र जनतासंग सम्बन्ध विच्छेद गर्‍यांै वा आफूलाई जनताभन्दा माथि राख्यांै भने निश्चय पनि हामी उनीहरूद्वारा छोडिने छाौ । हरेक पार्टीका लागि यो नियम लागू हुन्छ र यो नै त्यस्तो फलामे नियम हो जो विना अपवाद लागू हुन्छ ।
 क्रान्ति, बिकास तथा जनता र पार्टीको शक्तिमा निर्भर हुदै गरिएका सुधारका चरणहरु पश्चात हाम्रो पार्टीले निकालेको निस्कर्ष के हो भने स्वतन्त्रता अपरिहार्य छ। हामी जब आफ्नो राष्ट्रको विकासको खोजी गर्छौ र राष्ट्रिय गौरव र दृढताको प्रतिरक्षा गर्दै र सङ्कल्पित हुंदै आफ्नै बाटोमा अघि बढ्छौ तब भविष्यमा हामी विगतमा गरेको कुरामा निर्भर पनि हुन्छौ ।
 

स्वतन्त्रता चिनिया राष्ट्रको एउटा सुन्दर परम्परा हो जुन पार्टी निर्माण र जनगणतन्त्र चीनको अपरिहार्य सिद्धान्त पनि हो । विशाल जनसंख्या र पछौटे अर्थतन्त्रयुक्त पूर्वीय देशका रुपमा चिनिएको चीनमा क्रान्ति र विकास ल्याउने वास्तविकता र उद्देश्यले हामीलाई आफ्नै पथमा लाग्नु बाहेकको अर्को विकल्प छैन भन्ने पुष्टि गरिदिएको छ ।
 

९६ लाख वर्ग किमी विशाल जमिन, गहन सांस्कृतिक सम्पदा र १३ करोड जनताप्रति गर्व गर्दै हामीले आफ्नो पथमा लाग्ने दृढ संकल्प गरेका छौं । हामीसंग हाम्रा फाइदाहरू देखाउने ठूलो मञ्च छ, अनुकुलताहरु खिच्ने लामो र सम्पन्न इतिहास छ, अनि अघि बढाउने अतिशक्तिशाली प्रेरक शक्ति पनि छ । हामी चिनिया जनता मध्ये जो कोहीले पनि यसबाट दृढ विश्वास निकाल्नै पर्छ ।
 

स्वतन्त्रताको पक्षमा लाग्नु भनेको चिनिया मामिलाको सामना र निर्णय समेत  चिनिया जनता आफैले गर्नु हो । संसारमा यस्तो कुनै विकासको मोडेल छैन जुन संसारभरलाई लागू होस न त त्यस्तो कुनै विकासको पथ छ जो ढुङ्गामा कुदिएर नै रहेको होस। असमान ऐतिहासिक अवस्थाहरुले नै विभिन्न देशहरूका असमान विकासको बाटो निर्धारण गर्छन्। मानव इतिहासमै, कुनै पनि एउटा देश वा राष्ट्र यस्तो छैन जुन शक्तिको रुपमा उदाएको वा पूर्ण रुपमा बाहिरी शक्तिको निर्भर भएर वा अन्धविश्वासी रुपमा अरुको पछि लागेर तरुण भएको होस्। बरु त्यस्ता देश कि त अरुको कठपुतली भएका छन् वा असफल नै भएका छन् ।
 

 हाम्रो पार्टीले क्रान्ति, विकास र सुधारको नेतृत्व गर्दा जहिले पनि आफ्नै स्वतन्त्र विकासको बाटो अवलम्बन गरेको छ। यो स्वतन्त्र आविष्कार तथा अभ्यासको आंट, दृढता तथा प्रतिबद्धताका साथ कुनै काममा लागिरहने क्षमता नै हाम्रो पार्टीको अभ्यास तथा सिद्धान्तहरूको आधारशिला हो । यसले नै हाम्रो पार्टी र जनता विजयबाट फेरि विजयसम्म जाने कुरा प्रत्याभुत गरेको छ ।
 

स्वतन्त्रता अबलम्बन गर्नु भनेको दृढ रुपमा चिनियां विशेषता सहितको समाजवादी बाटो अंगाल्नु हो । हामी न त गोप्य तवरको ९अयिकभम मययच० पुरानो कडा निति नै लिन्छांै न त झण्डा परिवर्तन जस्तो गलत बाटो नै रोज्छांै। हामीले हाम्रो राजनीतिक विश्वास,हाम्रो मार्ग, सिद्धान्त र चिनिया समाजवादी प्रणाली प्रतिको दृढतालाई बढवा दिनुपर्छ । परिवर्तित अवस्था र कार्य अनुरुप हामीले यो मार्गलाई फराकिलो पार्नुपर्छ, सिद्धान्तहरूलाई सम्बृद्ध बनाउनु पर्छ र प्रणालीमा  सुधार गर्नु पर्छ। हामीले अन्य संस्कृतिका सबै उपलब्धीहरूलाई मर्यादित भएर निश्चित दिशातिर जान दिनुपर्छ तर आफ्नो उत्पतीलाई भने कहिल्यै बिर्सनु हुन्न । हामी बुझपचाएर न त अरु देशको विकासको प्रणालीको नक्कल नै गन सक्छौं न त अरुको हुकुम वा आदेश नै स्वीकार्न तयार छौं ।
 

स्वतन्त्रताको पक्ष पोषणकालागि हाम्रो शान्तिपूर्ण स्वतन्त्र विदेश नीतिमा अडिरहन र शान्तिपूर्ण विकासको बाटोमा लाग्न जरुरी छ । शान्ति, विकास, आपसी सहयोग र सबैका लागि लाभको झण्डा माथि उठाउंदै, शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्त(६)को आधारमा अरु देशहरूसंगको मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै, समान आपसी हितका आधारमा अन्य देशहरु संगको सहयोग र लेनदेन अगाडी बढाउंदै,विश्व शान्तिको वफादारपूर्ण सुरक्षा सहित साझेदारी विकासलाई बढाउंदै हामीहरु अगाडि बढ्नु पर्दछ। हामी सदैव आफ्नो स्तरमा रहनुपर्छ र हाम्रो नीतिहरूसमेत हाम्रो आफ्नै क्षमतामा आधारित बनाउनुपर्छ । त्यसरी नै न्याय र स्वच्छतालाई माथि उठाउदै हरेक जनताको आफ्नो स्वतन्त्र विकासको बाटोमा निर्णय गर्ने अधिकारको पनि सम्मान गर्नुपर्छ । हामीले हाम्रो चाहना कसैमा पनि जबरजस्ती लाद्न सक्दैनौं न त हामीमा अरु कसैको चाहनालाई लाद्न अनुमति दिन सक्छौं । हामी जहिले पनि अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानको पक्षमा उभिन्छौं। हरेक प्रकारको आधिपत्यताको र शक्तिमा आधारित राजनीतिको विपक्षमा खडा हुन्छौं । हामी कहिले पनि आधिपत्य लाद्ने वा विस्तार गर्ने  नीतिमा संलग्न हुन सक्दैनौं। हामी स्पष्ट रुपमा हाम्रो सम्प्रभुता, सुरक्षा र विकासको चाहनामाथिको कुनै प्रकारको खतरा स्वीकार गर्न सक्दैनौं। हाम्रा यी चाहनाहरु त्याज्य भएको कुनै पनि देशले कल्पना नगरोस किनकी सम्प्रभुता, सुरक्षा र विकास चासोमा हानी पुऱ्याउने कुनै पनि कुरा हामी स्विकार गर्न सक्दैनौं।
 
 
 
नोट:–

१) माओ जेदुङ, ‘हाम्रो अध्ययनलाई सुधारौं’, माओका संकलित रचनाहरु, भाग ३, अंग्रेजी संस्करण, विदेशी भाषा प्रेस, बेइजिङ्ग, १९६५, पेज नं २२

२) माओ जेदुङ,नयां राजनैतिक परामर्शदातृ सम्मेलनको तैयारी बैठकलाई सम्बोधन, माओका संकलित रचनाहरु, भाग ४, अंग्रेजी संस्करण,विदेशी भाषा प्रेस, बेइजिङ्ग, १९६१, पेज नं ४०८

३)ग्वाङ्ग जी, (४७५ –२२१ ई.पू.)

४) माओ जेदुङ, ‘छुङकिङ्ग वार्ता बारे’, माओका संकलित रचनाहरु, भाग ४, अंग्रेजी संस्करण, विदेशी भाषा प्रेस, बेइजिङ्ग, १९६१, पेज नं ५८

५) वाङ्ग चोङ्ग ‘तुलोमा जोखिएको संवाद’(Discourse weighed in the Balance) (२७ – ९७)

६) शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तहरु यी हुन् :एक अर्काको भौगोलिक अखण्डता र सार्वभौमिकताको आपसी सम्मान, आपसी अनामक्रमण, एक अर्कााको आन्तरिक मामलाहरुमा अहस्तक्षेप, समानता र आपसी हितका लागि सहयोग, र शान्तिपूर्ण सहअस्तित्व ।डिसेम्बर १९५३ देखि अप्रिल १९५४ सम्म भारत र चीन सरकारका प्रतिनिधिमण्डलहरुले चीनको तिव्वत क्षेत्रकाबारेमा भारत चीन सम्बन्ध सम्बन्धि वार्ता गरे। डिसेम्बर  ३१, १९५३, प्रतिनिधी मण्डलहरुको पहिलो बैठकको दिन, मा चिनिया प्रधानमन्त्री चाओ एन लाइले भारतको प्रमण्डललाई भेट्नु भयो, र पहिलो पटक शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तहरु अगाडी सार्नु भयो। पछि यी ५ सिद्धान्तहरुलाई चीनको तिब्बत क्षेत्र र भारत बीचमा सम्पन्न व्यापार तथा सम्पर्क सम्झौताको प्रस्तावनामा औपचारिक रुपमा समावेश गरियो। सन् १९५४ जुनमा चाउ एनलाईको भारत र वर्मा भ्रमणको क्रममा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु र वर्माका प्रधानमन्त्री ऊ नुनसंगको संयुक्त वक्तव्यमा राज्यहरुका बीचको सम्बन्धको आधारभूत तत्वका रुपमा उक्त सिद्धान्तलाई पनि समावेश गरियो।
 
 
 
श्रोत
XI JINPING: the governance of China, Foreign Language Press Co. Ltd., Beijing, China, 2014, PP 27-33.
(Translated by Yubaraj Chaulagain and Navraj Sapkota)
 

Comments

Popular posts from this blog

शिक्षा : परिवर्तनको पैरवी

कमरेडको फोन

कोरियामा पिल्सिएको नेपाल : एक अनुभूति