Posts

Showing posts from February, 2017

मैंले केही गरेको छैन

हो हजुर  मैंले केही गरेको छैन।  ठूल्ठूला साहसिक निर्णयहरु  लिन सकेको छैन आफैंलाई बलिदान दिन सकेको छैन  सिंगै समर्थकहरुलाई रोजगारीमा हुल्न फन्को नमार्नेहरुलाई हृदयदेखि भुल्न  मैंले सकेको छैन  आफ्नै भान्साको समस्या पनि भगाउन सकेको छैन धम्की घुर्की गर्दै अन्त नजर लगाउन सकेको छैन लाखौंको जायदाद लिन/दिन सकेको छैन हजुर मेरो पर्यावरणबाट खतरा टरेको छैन  मैंले केही गरेको छैन ।  आन्दोलनमा म गरीबको एउटा परिवार उजाड भएको त हो  घरको एउटा प्यारो सदस्य सहिद मात्र भएको त हो  केही दर्जन मोर्चा लडेर कहॉ हुन्छ खंडेरीमा मात्र अघि बढेर कहॉ हुन्छ  म उल्लूले बुझ्नु पर्छ गोडा बिशेक बर्ष झोला बोकेर गाउं हल्लदैमा कहॉ हुन्छ केही मान्छेले राम्रो भन्दिदैमा कहॉ हुन्छ आफूमा केही बिशेष हुनुपर्छ आफ्ना कोही बिशेष हुनुपर्छ। ओठमाथि जुंगाको रेखि नबस्दा देखि तिलचामले कपाल हुंदा सम्म मैंले सिक्न सकेको यत्ति हो हजुर  मैंले केही गरेको छैन । २०७३ फागुन ९

कमरेडको फोन

कमरेडको फोन बाह्र बर्ष पछि मेरो छाप्रोमा कमरेडको फोन आयो। एक जुगमा प्रिय थिए उनी मेरा बच्चाहरुका मैंले नजानेका रमाइला बाल कथाहरु सुनाउंथे उनी नियास्रो मान्थिन् मेरी जहान मैंले कहिल्यै नहेरेका भान्साका मसिना कामहरु सघाउंथे उनी मेरो टोलका सप्पै किसानहरु रमाउंथे उनीसंग दु:खका कथा हाल्थे दु:खमा कॉध थाप्थे भारी झोला बोकेर मोजा गन्हाउंदै जब उनी टुसुक्क खटियामा बस्थे गजबको आत्मीयता बसाउंथ्यो मेरो झुपडी भित्र। जहान क्यान्सरले बितेको सात बर्ष भयो उनले खेलाएको ठूलो छोरो साउदी भासिएको तीन बर्ष भयो दिव्य चार बर्ष भएछ छोरीकै बिहे भएको के सुनाऔं के भनौं मन उद्वेलित भयो छाती ढक्क भयो बाह्र बर्ष पछि मेरो छाप्रोमा कमरेडको फोन आयो। नम्बर जम्मै मेटिइसकेको नोकियाको थोत्रो सेटमा कचक्क थिचेर जब शुरु भयो बातचीतको सिलसिला कमरेडले मेरो घरबारे सोधेनन् आफैंले खेलाएका बाबु/नानीहरुबारे सोधेनन् मरीसकेकी जहानबारे सोधेनन् किसानहरुबारे सोधेनन् कमरेडले सोधे- 'दाजु, तपाईको बस्ती तिर जग्गाको भाऊ कति पुग्यो?' -----२०७३/१०/०२--------